सहिद रम्भु यादवको २३औँ स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम

Nov 1, 2026 - 18:18
 0  11
सहिद रम्भु यादवको २३औँ स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम

कलैया, कार्तिक १५ । सहिद रम्भु यादवको २३औँ स्मृति दिवसका अवसरमा आइतबार कलैयामा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको छ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बारा जिल्ला कमिटीको आयोजनामा कलैयास्थित पार्टी कार्यालयमा कार्यक्रम गरी सहिद यादवप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो।

 २०६० साल कार्तिक १५ गते कलैया नगरपालिका क्षेत्रअन्तर्गत फुलवरियास्थित आफ्नै घरमा रहेका बेला तत्कालीन शाही सेनाद्वारा यादवको हत्या गरिएको थियो। माओवादीमा सक्रिय थिए।

उनको स्मृतिमा पार्टीले प्रत्येक वर्ष कार्तिक १५ गते श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्दै आएको छ। कार्यक्रमका प्रमुख अतिथि नेकपा बारा जिल्ला इन्चार्ज रमेश प्रसाद यादवले सहिदहरूको बलिदानीलाई खेर जान दिन नहुने बताए।

सहिदहरूको त्याग र योगदानकै कारण देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भएको तथा निरंकुश राजतन्त्रको अन्त्य भई जनताले राजनीतिक मुक्ति र अधिकार प्राप्त गरेको उनको भनाइ थियो। सहिद रम्भु यादवको योगदान र बलिदानी सधैँ स्मरणीय रहने उल्लेख गर्दै उनले सहिदले देखाएको सपना पूरा गर्नु सबैको दायित्व भएको बताए।

कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले सहिदहरूको बलिदानीबाट प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्दै जनताको अपेक्षाअनुसार काम गर्नुपर्नेमा जोड दिए।

 त्यसैगरी पार्टीका केन्द्रीय सदस्य मुकेश साह, जिल्ला सह ईन्चार्ज बतहु यादव र प्रदेश कमिटी सदस्य उमेश यादव लगायतकाले सहिद रम्भु यादवप्रति श्रद्धाञ्जली व्यक्त गर्दै लोकतन्त्र स्थापनाका लागि सहिदहरूले गरेको योगदानको चर्चा गरेका थिए।

 वक्ताहरूले सहिदहरूको बलिदानी केवल इतिहासको विषय नभई वर्तमान पुस्ताका लागि जिम्मेवारी र प्रेरणाको स्रोत भएको उल्लेख गरे।

उनीहरूले सहिदको सपना साकार पार्न राजनीतिक परिवर्तनसँगै जनताको जीवनस्तरमा सुधार र अधिकारको सुनिश्चितता आवश्यक रहेको धारणा राखे।

 पार्टी बारा जिल्ला संयोजक गीता कँडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहिद परिवारका सदस्य प्रभु यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा सहिद परिवारका सदस्यहरूको सहभागिता रहेको थियो।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0