सिम्रौनगढमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु, तीन घाइते
कलैया, २५ असोज । बाराको सिम्रौनगढ नगरपालिका–९ बसवरियास्थित नहर सडकखण्डमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
शनिबार साँझ करिब ६:४५ बजे सिम्रौनगढबाट कचोर्वातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बीआर ०५ एएफ ०१४० नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको साइकललाई ठक्कर दिएको थियो।
दुर्घटनामा साइकल चालक सिम्रौनगढ नगरपालिका–६ निवासी करिब ४० वर्षीय सबु मोहम्मदकी श्रीमती ३७ वर्षीया रिजवना खातुनको मृत्यु भएको हो। दुर्घटनामा साइकल चालक सबु मोहम्मद घाइते भएका छन्।
टाउको र निधारमा चोट लागेका उनलाई सुरुमा प्रादेशिक अस्पताल कलैयामा उपचार गरिएको थियो। अवस्था थप उपचार आवश्यक देखिएपछि राति ९:१० बजे नारायणी न्युरो अस्पताल वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक सोही वडाका बिगु महतोका २५ वर्षीय छोरा अजय महतो र मोटरसाइकलमा सवार २२ वर्षीय विवेक महतो पनि घाइते भएका छन्। दुवैको टाउको, नाक र कानमा चोट लागेको छ।
उनीहरूलाई प्रादेशिक अस्पताल कलैयामा सामान्य उपचारपछि राति ७:५० बजे थप उपचारका लागि नारायणी न्युरो अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरी चौकी कचोर्वा र इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। दुर्घटनामा संलग्न मोटरसाइकल र साइकल प्रहरी चौकी कचोर्वाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0