आपङ्ता र सीमान्तकृत समुदायको क्षमता अभिवृद्धिको लागि तालिम शुरु
प्रदिप दास , रौतहट
रौतहट, असोज ११ । अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको राजनीतिक अधिकार, सहभागिता र राज्यका संरचनामा पहुँच बढाउने उद्देश्यले चन्द्रपुरमा दुईदिने क्षमता अभिवृद्धि तालिम सुरु भएको छ।
चन्द्रपुरस्थित गौतम होटलमा सुरु भएको तालिममा अपाङ्गता भएका व्यक्ति, निर्वाचित जनप्रतिनिधि, दलित तथा हरवा–चरवा समुदायका प्रतिनिधि र स्थानीय सञ्चारकर्मी सहभागी छन्।
डीडानको मुख्य आयोजना तथा पर्पल फाउन्डेसन, युवा, नेपाल मतदाता अधिकार मञ्च र समन्यायिक समाज नेपालको सहकार्यमा कार्यक्रम सञ्चालन भइरहेको छ।
तालिमको पहिलो दिन अपाङ्गता समावेशी विकास विज्ञ तथा डीडानका संस्थापक अध्यक्ष कृष्ण गहतराजले सहजीकरण गर्दै अपाङ्गता, सामाजिक सहभागिता र राज्यका संरचनामा पहुँचका विषयमा प्रशिक्षण दिएका थिए।
उनले अपाङ्गतालाई दया वा सहानुभूतिको विषय नभई अधिकार र समान अवसरको दृष्टिले हेर्नुपर्नेमा जोड दिए। सत्रमा भौतिक, नीतिगत, संस्थागत, सूचना–सञ्चार, प्रविधि तथा सामाजिक–सांस्कृतिक अवरोधका कारण अपाङ्गता भएका व्यक्तिहरूको सार्वजनिक जीवनमा सहभागिता प्रभावित भइरहेको विषयमा छलफल गरिएको थियो।
मतदान केन्द्र, सरकारी कार्यालय, विद्यालय र स्वास्थ्य संस्थाजस्ता सार्वजनिक संरचनालाई पहुँचमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
तालिममा निर्वाचन प्रक्रिया, मतदाता अधिकार, राजनीतिक दलभित्रको सहभागिता, स्थानीय तहको निर्णय प्रक्रिया तथा सार्वजनिक नीति निर्माणमा प्रतिनिधित्वका विषयमा पनि चर्चा गरिएको थियो।
सहभागीहरूले कानुनी अधिकार सुनिश्चित भए पनि व्यवहारिक अवरोध कायम रहेकाले निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता आवश्यक रहेको बताएका छन्।
सहभागीहरूको निष्कर्षमा अपाङ्गतालाई कमजोरीका रूपमा हेर्ने सामाजिक सोच, निर्णय प्रक्रियाबाट अलग राख्ने प्रवृत्ति र क्षमता तथा विचारलाई कम महत्व दिने व्यवहारले अधिकार उपयोगमा बाधा पुर्याइरहेको उल्लेख गरिएको छ।
यस्तो अवस्था परिवर्तनका लागि परिवार, समुदाय, स्थानीय सरकार, राजनीतिक दल, नागरिक समाज र सञ्चारमाध्यमको सक्रिय भूमिका आवश्यक रहेको जोड दिइएको छ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0