मनोज केसी नेपाल प्रहरीको ३४औँ आईजीपी नियुक्त

Nov 4, 2026 - 16:18
 0  8
मनोज केसी  नेपाल प्रहरीको ३४औँ आईजीपी  नियुक्त

 काठमाडौं, कात्तिक १८। सरकारले नेपाल प्रहरीको नेतृत्व परिवर्तन गर्दै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोज केसीलाई ३४औँ प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ।

 मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख रहेका केसीलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको हो।

सरकारले कार्यकाल बाँकी रहँदै वर्तमान आईजीपी दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा गरेको छ।

 कार्कीलाई हटाएपछि सरकारले एआईजीमध्ये वरिष्ठता क्रममा दोस्रो नम्बरमा रहेका राजन अधिकारीलाई समेत पछि पार्दै तेस्रो नम्बरमा रहेका केसीलाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको हो। केसी र कार्की एउटै ब्याचका प्रहरी अधिकारी हुन्।

दुवै जना २८ चैत २०५४ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए। केसी २६ मंसिर २०६६ मा प्रहरी नायब उपरीक्षक (डीएसपी), १९ साउन २०७४ मा प्रहरी उपरीक्षक (एसपी), ३ साउन २०७९ मा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी), १३ जेठ २०८१ मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) र ११ वैशाख २०८२ मा एआईजीमा बढुवा भएका थिए।

 एआईजीमा बढुवा हुँदा उनी तेस्रो वरीयतामा थिए। अपराध अनुसन्धानमा काम गरेका केसी नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबाट चर्चामा आएका थिए। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरिएको उक्त प्रकरणको अनुसन्धान उनकै नेतृत्वमा अघि बढेको थियो।

 उक्त मुद्दाको अभियोजन प्रक्रियामा भने तत्कालीन आईजीपी दानबहादुर कार्कीको पनि भूमिका रहेको थियो। केसीले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा रहँदा फेक रेस्क्यु अर्थात् नक्कली हवाई उद्धार ठगी, स्मार्ट टेलिकममा भएको आर्थिक अनियमितता तथा ठगी, धितोपत्र र बिमा ठगी, क्रिप्टोकरेन्सीसम्बन्धी अपराध र सरकारी जग्गा अतिक्रमण तथा हिनामिनाका घटनाको अनुसन्धान नेतृत्व गरेका थिए। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, अपराध अनुसन्धान विभाग र जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित विभिन्न प्रहरी निकायमा उनले जिम्मेवारी सम्हालेका छन्।

डीआईजी हुँदा विशेष ब्युरो र प्रहरी एकेडेमीमा काम गरेका केसी नेपाल प्रहरीमा पहिलोपटक सञ्चालन गरिएको स्टाफ कलेजका संस्थापक निर्देशकसमेत हुन्। प्रहरी एकेडेमीमा रहँदा उनले प्रहरी विज्ञानमा स्नातकोत्तर तहको पाठ्यक्रम निर्माणमा भूमिका निर्वाह गरेका थिए।

केसीले कम्बोडियाको पन्नासत्र विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरण विषयमा विद्यावारिधि गरेका छन्। सोही विश्वविद्यालयबाट द्वन्द्व रूपान्तरणमा स्नातकोत्तर तथा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर र जनप्रशासनमा उच्च शिक्षा हासिल गरेका छन्।

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत कोसोभो र हाइटीमा सुरक्षा अधिकृतका रूपमा काम गरेका केसी फ्रान्सेली र स्पेनी भाषामा समेत दख्खल राख्छन्।

उनले प्रहरी सेवा र संगठित अपराध नियन्त्रणसम्बन्धी विषयमा दुई पुस्तकसमेत लेखेका छन्। सरकारको पछिल्लो निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा आएको परिवर्तनले संगठनभित्रको वरिष्ठता क्रम र नेतृत्व चयन प्रक्रियाबारे बहससमेत सिर्जना गरेको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0