पत्रहटीको मन्दिर विकासका लागि सावा १ करोड बजेट, कुस्ती दंगलमा नेपाल–भारतका नामी पहलवान भिडे
कलैया, कात्तिक ९। मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले बाराको महागढीमाई नगरपालिका–६, पत्रहटीस्थित शक्तेश्वरी माता तथा रामजानकी मन्दिर क्षेत्रको विकासका लागि १ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको घोषणा गरेका छन्।
दशैको दुर्गापूजापछि आयोजित परम्परागत कुस्ती दंगल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री पटेलले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र स्थानीय पर्यटन प्रवर्द्धनमा जोड दिएका हुन्।
मठाधीश बाबा गोरख दासको मन्दिर परिसरमा आयोजित कुस्ती दंगलमा नेपालका लक्की थापासहित भारतको अयोध्याका बाबालगायत ख्यातिप्राप्त पहलवानले प्रतिस्पर्धा गरेका थिए।
नेपाल र भारतका स्थानीयसहित दर्जनौँ पहलवान सहभागी प्रतियोगिताले पत्रहटीको दशकौँ पुरानो कुस्ती परम्परालाई निरन्तरता दिएको थियो। कार्यक्रममा पूर्वसांसद तथा नेपाली कम्युनिस्ट पार्टीका नेता रमेश यादवले मन्दिर क्षेत्रको संरक्षण र व्यवस्थापनका लागि बाउन्ड्री पर्खाललगायत आवश्यक पूर्वाधार निर्माण गर्न प्रदेश सरकारसँग आग्रह गरेका हुन्।
उनले पत्रहटीको कुस्ती दंगल खेलकुद प्रतियोगितामा मात्र सीमित नभई स्थानीय धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको परम्परा भएको बताएका छन्।
यस्ता आयोजनाले पुरानो संस्कृतिलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुका साथै समुदायबीच सद्भाव कायम गर्न सहयोग पुर्याउने उनको भनाइ थियो।
स्थानीय रामकिशोर प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल, महागढीमाई नगरपालिका–६ का वडा अध्यक्ष गेनालाल यादव, नेकपाका युवा नेता मुकेश साह, बतहु प्रसाद यादव, प्रभु यादव, स्थानीय जनप्रतिनिधि, समाजसेवी, सञ्चारकर्मी तथा कुस्तीप्रेमीको सहभागिता थियो।
मन्दिर क्षेत्रको विकासका लागि बजेट विनियोजनको घोषणा भए पनि रकम कुन-कुन पूर्वाधारमा खर्च गरिनेछ र निर्माण कार्य कहिलेदेखि सुरु हुनेछ भन्ने विषयमा स्पष्टता आउन बाँकी छ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0