स्थानीय तह निर्वाचनको मिति नजिकिँदै, आयोगको तयारी फागुनतिर

Sep 18, 2026 - 23:20
 0  7
स्थानीय तह निर्वाचनको मिति नजिकिँदै, आयोगको तयारी फागुनतिर

काठमाडौं, असोज २ — निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचन फागुन महिनामै सम्पन्न गर्ने लक्ष्यसहित तयारी अघि बढाएको छ। स्थानीय तहका वर्तमान जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुअघि नै निर्वाचन गराउने कानुनी व्यवस्थालाई आधार बनाएर आयोगले प्रारम्भिक गृहकार्य थालेको हो।

निर्वाचन आयोगका आयुक्त राजीव सुब्बाले स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार गाउँसभा र नगरसभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था रहेकाले सोहीअनुसार तयारी भइरहेको बताएका छन्।

 २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल सकिन अझै केही महिना बाँकी रहे पनि आयोगले निर्वाचनसम्बन्धी प्रशासनिक, प्राविधिक र कानुनी तयारी सुरु गरिसकेको जनाएको छ।

 आयोगले आगामी निर्वाचनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने योजनासमेत अघि सारेको छ। त्यसअन्तर्गत स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा सीमित क्षेत्रबाट अन्तरजिल्ला मतदानको अभ्यास सुरु गर्ने सम्भावनाबारे अध्ययन भइरहेको छ। निर्वाचन प्रक्रियालाई क्रमशः डिजिटल प्रविधिमा आधारित बनाउने लक्ष्यअनुसार आयोगले ई–भोटिङ प्रणालीको सम्भावनासमेत खोजिरहेको जनाएको छ।

विदेशमा रहेका नेपाली नागरिकलाई भविष्यमा दूतावास वा नेपाली नियोगमार्फत मतदान गराउने विकल्पबारे पनि अध्ययन भइरहेको आयोगको भनाइ छ। संविधानले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष तोकेको छ भने कार्यकाल समाप्त भएपछि छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ।

यद्यपि स्थानीय तह निर्वाचन ऐनले कार्यकाल सकिनुअघि नै निर्वाचन गरिसक्नुपर्ने व्यवस्था गरेकाले आयोग त्यसैअनुसार अघि बढेको हो। आयोगको तयारीसँगै अब आगामी स्थानीय तह निर्वाचनको मिति, मतदान व्यवस्थापन तथा प्रविधिको प्रयोगबारे राजनीतिक दल र आम नागरिकको चासो बढ्न थालेको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0