विपत्तिमा राष्ट्रिय एकता आवश्यक : रवि लामिछाने

Sep 9, 2026 - 18:57
 0  13
विपत्तिमा राष्ट्रिय एकता आवश्यक : रवि लामिछाने

काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुक अभूतपूर्व विपत्तिबाट गुज्रिरहेको अवस्थामा राजनीतिक दलहरूबीच आरोप–प्रत्यारोपभन्दा माथि उठेर राष्ट्रिय एकता प्रदर्शन गर्नुपर्ने बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले विपद् व्यवस्थापनलाई सत्ता र प्रतिपक्षको परम्परागत दृष्टिकोणबाट मूल्याङ्कन गर्न नहुने बताए। प्रारम्भिक चरणदेखि नै राज्य संयन्त्र उद्धार, राहत र खोजी कार्यमा सक्रिय रूपमा परिचालित भएको उल्लेख गर्दै उनले प्रभावित क्षेत्रमा हवाई उद्धार, राहत वितरण तथा अस्थायी आवास व्यवस्थापनमा सरकारको भूमिका प्रशंसनीय रहेको धारणा राखे।

लामिछानेले भदौ १० गतेको विनाशकारी विपत्तिमा ज्यान गुमाएकाहरूलाई सामान्य प्राकृतिक प्रकोपका मृतक मात्र नभई जलवायु परिवर्तन र विश्वव्यापी जलवायु अन्यायका पीडितका रूपमा हेर्नुपर्ने बताए।

नेपालले विश्व कार्बन उत्सर्जनमा न्यून योगदान गरे पनि जलवायु संकटको ठूलो मूल्य नेपाली नागरिकले चुकाउनुपरेको भन्दै उनले अन्तर्राष्ट्रिय समुदायसमक्ष जलवायु न्यायको आवाज सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिए। उनले घरबारविहीन, आफन्त गुमाएका तथा विस्थापित नागरिकको पीडा राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने उल्लेख गर्दै विपद्पीडितको आक्रोशलाई राज्यप्रतिको अन्तिम भरोसाका रूपमा लिन आग्रह गरे।

खोजी तथा उद्धार अझै जारी रहेकाले बेपत्ताहरूको अवस्था पत्ता लगाउन सबै निकायको समन्वय आवश्यक रहेको उनको भनाइ थियो। 

सामाजिक सञ्जालमा विपद्पीडितमाथि हुने तुच्छ टिप्पणी, गलत सूचना र साइबर बुलिङप्रति पनि उनले आपत्ति जनाए। यस्ता गतिविधिमा रास्वपाका कुनै सदस्य वा पदाधिकारी संलग्न पाइए तत्काल पार्टीबाट निष्कासन गरिने चेतावनी उनले दिए।

 सभापति लामिछानेले पुनर्निर्माण, राहत तथा जलवायु न्यायका सवालमा सम्पूर्ण राजनीतिक दल, सरकार र नागरिक समाज एक ठाउँमा उभिनुपर्ने बताउँदै वर्तमान बाढीलाई राष्ट्रिय महत्वको जलवायुजन्य विपत्ति घोषणा गर्न माग गरे। साथै, विपत्तिको कारण, क्षति र अन्तर्राष्ट्रिय स्तरमा यसको विषय उठाउन सर्वदलीय संसदीय विशेष समिति गठन गर्नुपर्ने प्रस्ताव पनि उनले राखे। उनले राजनीतिक झण्डाभन्दा माथि उठेर राष्ट्रको झण्डामुनि एकताबद्ध हुने समय आएको उल्लेख गर्दै विपत्तिपछिको पुनर्निर्माण अभियानलाई साझा राष्ट्रिय दायित्वका रूपमा अघि बढाउन सबै पक्षलाई आह्वान गरे।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0