विजयादशमीको देशवासीलाई शुभकामना सन्देश, भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुनुपर्छ : प्रधानमन्त्री बालेन
काठमाडौं, ४ कात्तिक। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति अन्त्य गर्न सबै एकजुट हुनुपर्ने बताएका छन्।
विजयादशमीका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालेनले प्रत्येक नागरिकलाई सरकार आफ्ना लागि पनि छ भन्ने अनुभूति गराउन आवश्यक रहेको बताएका हुन्।
उनले समाजमा विद्यमान विकृति हटाउन इमानदार प्रयास, दृढ अठोट र सामूहिक मेहनत आवश्यक रहेको उल्लेख गरेका छन्। परिवर्तनका लागि सोचमा मात्र नभई व्यवहारमा समेत सुधार ल्याउनुपर्ने उनको भनाइ छ।
प्रधानमन्त्री बालेनले विजयादशमीलाई मानिसभित्र रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्ने प्रेरणा दिने पर्वका रूपमा व्याख्या गरेका छन्।
उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै विविधतायुक्त नेपाली समाजलाई एकताको सूत्रमा बाँध्न विजयादशमीले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीच आपसी सद्भाव, सम्मान र एकता कायम राख्दै पर्व मनाउन आग्रह गरेका प्रधानमन्त्री बालेनले लामो समयदेखि छुट्टिएका साथीभाइ तथा आफन्तसँग आत्मीयता साटासाट गर्ने अवसरका रूपमा पनि विजयादशमीको महत्त्व रहेको बताएका छन्।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0