एसपी कुँवर र सीडीओ अधिकारीद्वारा यात्रु सहायता कक्ष प्रभावकारी बनाउन जोड

Oct 11, 2026 - 23:46
 0  3
एसपी कुँवर र सीडीओ अधिकारीद्वारा यात्रु सहायता कक्ष प्रभावकारी बनाउन जोड

एसपी कुँवर र सीडीओ अधिकारीद्वारा यात्रु सहायता कक्ष प्रभावकारी बनाउन जोड

बारा,२५ असोज । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर र प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले चाडपर्वमा यात्रुको सुरक्षा, सार्वजनिक सवारीसाधनको भाडादर अनुगमन र यातायातसम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न यात्रु सहायता कक्ष प्रभावकारी बनाउन जोड दिएका छन्।

दसैँ, तिहार र छठमा यात्रुको चाप बढ्ने र बढी भाडा असुली, सामान हराउने तथा सुरक्षासम्बन्धी समस्या देखिन सक्ने भएकाले जिल्ला सुरक्षा समितिको योजनाअनुसार बाराका चार स्थानमा सहायता कक्ष स्थापना गरिएको हो। कलैयाको भरत चोकस्थित सहायता कक्षको आइतबार प्रमुख जिल्ला अधिकारी अधिकारीले उद्घाटन गरेका हुन्।

 प्रहरी उपरीक्षक कुँवरले यात्रुको आवागमन व्यवस्थित गर्न र यात्राका क्रममा देखिने समस्या समाधान गर्न ट्राफिक प्रहरी सक्रिय रहनुपर्ने बताए। यात्रुले भोगेका समस्या र गुनासो सहायता कक्षमा राख्न सकिने उल्लेख गर्दै उनले यात्रुको सुरक्षा र सहज यात्रालाई प्राथमिकता दिइने बताए। प्रमुख जिल्ला अधिकारी अधिकारीले सहायता कक्षको उद्देश्य यात्रालाई सहज, सरल र सुरक्षित बनाउनु रहेको बताए।

यात्रुले समस्या लुकाएर नराखी सम्बन्धित निकायलाई जानकारी गराउनुपर्नेमा उनले जोड दिए। कार्यक्रममा यातायात व्यवसायीले कलैयामा चालक अनुमतिपत्र र रुट परमिटबिना अटो सञ्चालन हुने गरेको तथा यात्रुले अटोमा सामान छुटाउने समस्या उठाएका थिए।

 उनीहरूले यस्ता विषयमा ट्राफिक प्रहरीले अनुगमन र तत्काल समाधानको पहल गर्नुपर्ने बताएका थिए। सहायक प्रहरी निरीक्षक प्रिन्सनन्द यादवका अनुसार २०८३ वैशाख १६ मा निर्धारण गरिएको भाडादरअनुसार छोटो, मध्यम र लामो दूरीका अन्तरप्रदेशीय मार्गको भाडा सूची सहायता कक्षमा राखिएको छ।

निजगढस्थित ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि भट्टराईले सुरक्षित यात्रा, दुर्घटना न्यूनीकरण र यात्रुका गुनासा समयमै सम्बोधन गर्नु सहायता कक्षको मुख्य उद्देश्य रहेको बताए।

 कार्यक्रममा सशस्त्र प्रहरी बल बाराका प्रहरी उपरीक्षक विशाल सिलवाल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक सरोज निरौला, यातायात व्यवसायी, चालक, सहचालक, यात्रु, स्थानीय तथा सञ्चारकर्मी सहभागी थिए।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0