भारतीय मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक फरार

Nov 22, 2026 - 13:36
 0  17
भारतीय मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक फरार

सरोज दास। 

बारा,६ मंसिर  । बाराको सुवर्ण गाउँपालिका–३ सन्तगन्ज पुलनजिक भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

पैदल हिँडिरहेका युवकलाई ठक्कर दिएर मोटरसाइकल चालक फरार भएका छन् । शनिबार साँझ सडक किनारबाट हिँडिरहेका भारतको बिहार राज्यअन्तर्गत महुआवा थाना, महुआवा पञ्चायत–६ निवासी चन्द्रिका ठाकुरका करिब २५ वर्षीय छोरा विक्रम शर्मा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए ।

घाइते शर्मालाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज पुर्‍याइएकोमा उपचारकै क्रममा मृत्यु भएको उनका बुवा चन्द्रिका ठाकुरले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

 बुवाका अनुसार सन्तगन्ज नाका र गाउँ नजिकै रहेकाले शर्मा पैदल घुम्न निस्किएका बेला दुर्घटनामा परेका थिए । प्रहरी ड्युटी रहेको स्थानबाट करिब १० मिटरको दूरीमा दुर्घटना भएको दाबी गर्दै उनले मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिन नसकेकोप्रति असन्तुष्टि जनाएका छन् ।

 उनले प्रहरीले नै चालक र मोटरसाइकल भगाएको आरोपसमेत लगाएका छन् । दुर्घटनामा संलग्न मोटरसाइकलको नम्बर र चालकको पहिचान अझै हुन सकेको छैन ।

 घटनापछि फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ भने दुर्घटनामा संलग्न भारतीय नम्बर प्लेटको मोटरसाइकलको खोजी कार्य जारी छ ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0