आज छठपर्वको सँझिया घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

Nov 15, 2026 - 15:46
 0  12
आज छठपर्वको सँझिया घाट, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

 कलैया, २९ कात्तिक। लोकआस्थाको महापर्व छठअन्तर्गत आज आइतबार मुख्य दिन श्रद्धा, निष्ठा र भक्तिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिँदैछ। चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन व्रतालुहरू दिनभर निर्जल उपवास बसेर साँझ जलाशय, नदी, पोखरी तथा निर्धारित छठघाटमा पुगेर अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिने परम्परा छ।

 कार्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको छठ पर्व सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि विधिवत् सम्पन्न हुन्छ। पर्वको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ्य दिने धार्मिक विधि रहेको छ।

छठ पर्व सूर्यदेव र छठी माताको आराधनासँग सम्बन्धित प्राचीन पर्व हो। महाभारतमा उल्लेख भएअनुसार पाँच पाण्डव अज्ञातवासमा रहँदा द्रौपदीसहित सूर्यदेवको आराधना गरेका थिए। त्यस्तै, सूर्य पुराणमा अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेको प्रसङ्ग उल्लेख छ।

यिनै धार्मिक तथा पौराणिक मान्यतासँग जोडिएर छठ मनाउने परम्परा विकसित भएको विश्वास गरिन्छ। प्रकृति र मानव जीवनबीचको अन्योन्याश्रित सम्बन्धलाई दर्शाउने यस पर्वमा सूर्यलाई जीवन, ऊर्जा र समृद्धिको स्रोतका रूपमा पूजा गरिन्छ।

 सूर्यको प्रकाशबाट वनस्पति, जीवजन्तु तथा सम्पूर्ण प्राणी जगतको अस्तित्व सम्भव हुने भएकाले सूर्यप्रति कृतज्ञता व्यक्त गर्ने पर्वका रूपमा पनि छठको विशेष महत्त्व रहेको छ।

छठमा बाँसको ढाकी, नाङ्लो तथा सुपलीमा ठकुवा, भुसुवा, नरिवल, केरा, उखु, अदुवा, विभिन्न फलफूल तथा अन्य पूजासामग्री सजाएर सूर्यलाई अर्पण गरिन्छ। व्रतालुहरूले शुद्धता, संयम र कठोर नियम पालना गर्दै व्रत बस्ने गर्छन्।

 परिवारको सुख, शान्ति, सुस्वास्थ्य, सन्तानको कल्याण तथा दुःख र दरिद्रताबाट मुक्ति मिल्ने धार्मिक विश्वासका साथ यो पर्व मनाइन्छ। मधेशको राजधानी जनकपुर , विरगञ्ज , कलैया, महागढीमाई नगरपालिका स्थित पिप्राविर्ता संघिय राजधानी काठमाडौं सहित देशका विभिन्न क्षेत्रमा छठघाटहरूमा भक्तजनको भीड लाग्ने गरेको छ।

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि रातभर जाग्राम, भजनकीर्तन तथा पूजाआराधनामा सहभागी हुने र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै चारदिने छठ पर्व समापन गर्ने परम्परा रहेको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0