पत्रकारको तनाव घटाउन डा. उषाद्धारा राजयोग र सकारात्मक सोचको सन्देश

Nov 22, 2026 - 07:49
 0  14
पत्रकारको तनाव घटाउन  डा. उषाद्धारा  राजयोग र सकारात्मक सोचको सन्देश

 कलैया,५ मंसित । समाचारको खोजी, सूचना संकलन र निरन्तरको व्यावसायिक दबाबबीच पत्रकारले आफ्नो मानसिक स्वास्थ्यलाई कसरी सन्तुलित राख्ने भन्ने विषयमा कलैयामा पत्रकारहरूलाई प्रशिक्षण दिइएको छ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, कलैयाद्वारा आयोजित कार्यक्रममा भारतको राजस्थानस्थित माउन्ट आबुबाट आएकी रामायण तथा गीता ज्ञान विशेषज्ञ, अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता एवं वरिष्ठ राजयोग प्रशिक्षिका डा. उषा दिदीले तनाव व्यवस्थापन र सकारात्मक जीवनशैलीका विभिन्न पक्षबारे प्रशिक्षण दिएकी हुन्।

 उनले पत्रकारिता केवल समाचार सम्प्रेषण गर्ने पेसा मात्र नभई समाजप्रतिको जिम्मेवारीसमेत भएकाले पत्रकारले व्यावसायिक व्यस्ततासँगै मानसिक शान्ति र आत्मिक सन्तुलन कायम राख्नुपर्ने बताइन्।

कामको चाप र प्रतिकूल परिस्थितिमा पनि सकारात्मक सोच, धैर्य र संयमले सही निर्णय लिन सहयोग पुग्ने उनको भनाइ थियो। डा. उषाले तनावलाई जीवनको स्वाभाविक चुनौतीका रूपमा बुझ्दै त्यसको व्यवस्थापनका लागि सोच र व्यवहारमा सकारात्मक परिवर्तन आवश्यक रहेको उल्लेख गरिन्।

राजयोग ध्यान, आत्मअनुशासन र नियमित आध्यात्मिक अभ्यासले मनलाई शान्त तथा एकाग्र बनाउन सहयोग गर्ने उनले बताइन्। प्रशिक्षणमा पत्रकारहरूको दैनिक कार्यशैली, मानसिक तनावका कारण, तनावमुक्त रहने व्यावहारिक उपाय तथा व्यक्तिगत र पेसागत जीवनबीच सन्तुलन कायम गर्ने विषयमा समेत चर्चा गरिएको थियो।

सूचना प्रवाहको जिम्मेवारीमा रहने पत्रकारलाई शारीरिक सक्रियतासँगै मानसिक रूपमा पनि स्वस्थ र सकारात्मक रहन प्रेरित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0