छठ मनाउन गाउँ गएका वडाध्यक्ष शुक्लाको कलैयास्थित घरमा २० लाखको चोरी
२९ कार्तिक । छठ पर्व मनाउन परिवारसहित पुर्ख्यौली गाउँ गएका महागढीमाई नगरपालिका–९ पिप्राविर्ताका वडा अध्यक्ष दिलिप शुक्लाको कलैयास्थित घरमा करिब २० लाख रुपैयाँ बराबरको चोरी भएको छ।
कलैया उपमहानगरपालिका–४ स्थित बजार क्षेत्रमा रहेको उनको घरमा शनिबार राति अज्ञात समूहले प्रवेश गरी नगद, सुनचाँदीका गरगहना तथा लत्ताकपडासहितका सामान चोरी गरेको हो।
वडाध्यक्ष शुक्ला परिवारसहित छठ पर्व मनाउन आफ्नो पुर्ख्यौली घर पिप्राविर्ता गएका बेला घर सुनसान थियो। यही मौका छोपेर चोरहरूले घरको मुख्य गेटको ताल्चा तोडी भित्र प्रवेश गरेका थिए।
त्यसपछि माथिल्लो तलाको ढोका र कोठाका ताल्चासमेत फोडेर दराज तोडफोड गर्दै घरमा राखिएका बहुमूल्य सामान चोरी गरी फरार भएका हुन्।छठलगायतका चाडपर्वमा परिवारसहित गाउँ जाने र सहरी क्षेत्रमा रहेका घर लामो समयसम्म सुनसान रहने अवस्थालाई चोरहरूले अवसरका रूपमा प्रयोग गर्न थालेका छन्।
पर्वका बेला घरमा कोही नभएको मौका छोपेर चोरी गर्ने घटनाले सर्वसाधारणको धनमालको सुरक्षामाथि चुनौती थपेको छ। कलैयासहित जिल्लाका विभिन्न क्षेत्रमा चोरीका घटनाबारे विगतमा पनि समाचार सार्वजनिक हुँदै आएका छन्।
यस्ता घटनाको नियन्त्रणका लागि नियमित प्रहरी गस्ती, शंकास्पद गतिविधिमाथि निगरानी, बजार क्षेत्रमा सुरक्षा व्यवस्था र स्थानीयस्तरमा सीसीटीभीको प्रभावकारी प्रयोग आवश्यक देखिएको छ।
चाडपर्वको समयमा नागरिकको आवतजावत र घर छाडेर गाउँ जाने क्रम बढ्ने भएकाले प्रहरीले सुरक्षा निगरानी थप प्रभावकारी बनाउनुपर्ने स्थानीयको अपेक्षा छ। वडाध्यक्ष शुक्लाको घरमा भएको चोरीको घटनामा संलग्न व्यक्तिहरूको पहिचान र चोरी भएका सामानको बरामदगी प्रहरीका लागि चुनौती बनेको छ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0