मधेशमा खेला सुरु, सरकार गठनमै नैतिकताको संकट सरकार ढाल्ने गठजोडबाट नयाँ सरकार बनाउने रस्साकसीसम्म, पुराना दलबीच फेरि मोर्चाबन्दी; १६८(२) र (३) को विवादमा प्रदेश प्रमुखको परीक्षा

Nov 20, 2026 - 23:21
Nov 20, 2026 - 23:22
 0  16
मधेशमा  खेला  सुरु, सरकार गठनमै नैतिकताको संकट सरकार ढाल्ने गठजोडबाट नयाँ सरकार बनाउने रस्साकसीसम्म, पुराना दलबीच फेरि मोर्चाबन्दी; १६८(२) र (३) को विवादमा प्रदेश प्रमुखको परीक्षा

 जनकपुरधाम । मधेश प्रदेशमा सरकार परिवर्तनको खेल फेरि सुरु भएको छ। सत्ता गठबन्धन भत्काउनेदेखि नयाँ समीकरण बनाउनेसम्मका गतिविधिले प्रदेशको राजनीति थप अस्थिर बनेको छ।

सरकारबाट बाहिरिएका र समर्थन फिर्ता लिएका दलहरू नै नयाँ सरकार गठनका लागि फरक–फरक समीकरणमा सक्रिय भएपछि राजनीतिक नैतिकता र प्रतिबद्धतामाथि प्रश्न उठेको छ।

 संविधानको धारा १६८(२) अनुसार बहुमतीय सरकार गठनको समयसीमा समाप्त भइसकेको अवस्थामा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले थप समय मागेका छन् भने प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले उपधारा (३) अनुसार सरकार गठन गर्नुपर्ने अडान राखेको छ।

 कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकारबाट एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा परेका थिए। त्यसपछि मुख्यमन्त्री यादवले कात्तिक २८ गते राजीनामा दिएका थिए।

यसअघि कांग्रेसले जसपा नेपाल र जनमत पार्टीका मन्त्रीहरूलाई सरकारबाट हटाएर एमाले र नेकपासँग सत्ता सहकार्य गरेको थियो। तर पछिल्लो राजनीतिक घटनाक्रममा एमाले र नेकपा जसपा नेपालको नेतृत्वमा सरकार बनाउन तयार भएको चर्चा चल्यो।

यही फेरबदलले मधेशमा सत्ता गठबन्धनको स्थायित्वभन्दा सरकार बनाउने र ढाल्ने राजनीतिक गणित हाबी भएको देखाएको छ।प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले धारा १६८(२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न मंसिर ४ गते अपराह्न ४ बजेसम्मको समय दिएका थिए। तर निर्धारित अवधिमा कुनै दाबी परेन।

 त्यसपछि कांग्रेसका कृष्णप्रसाद यादव, एमालेका सरोजकुमार यादव र नेकपाका युवराज भट्टराईले संयुक्त रूपमा थप समय मागेका छन्। चाडपर्व र एमालेको महाधिवेशनका कारण पर्याप्त छलफल हुन नसकेको उनीहरूको तर्क छ।

करिब ६१ सांसदको समर्थन जुटाउन सक्ने सम्भावना रहेकाले सहमतिका लागि थप समय आवश्यक रहेको उनीहरूको भनाइ छ। उता जसपा नेपालले भने अब उपधारा (२) को प्रक्रिया दोहोर्‍याउन नहुने भन्दै उपधारा (३) अनुसार आफ्नो दलका संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने माग गरेको छ।

पूर्वमुख्यमन्त्री लालबाबु राउतसहितका नेताहरूले प्रदेश प्रमुखलाई भेटेर यससम्बन्धी दाबी पेस गरेका छन्। जनमत पार्टीले पनि उपधारा (३) अनुसार सरकार गठन हुनुपर्ने पक्षमा धारणा राखेको छ। यसरी एकातिर तीन दल समय थपेर बहुमतीय सरकार बनाउने प्रयासमा छन् भने अर्कोतिर जसपा नेपाल ठूलो दलको हैसियतमा नेतृत्व प्राप्त गर्ने रणनीतिमा छ।प्रदेशसभाको अंकगणितले पनि सत्ता प्रतिस्पर्धालाई रोचक बनाएको छ।

 उपलब्ध विवरणअनुसार जसपा नेपालका २८, एमालेका २३, कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ सांसद छन्। दुई अन्य दलका एक–एक सांसद रहेको अवस्थामा जसपा, एमाले र नेकपा मिल्दा ६६ तथा जसपा, कांग्रेस र जनमत मिल्दा ६२ सांसदको समर्थन पुग्ने सम्भावना देखिन्छ। तर नेतृत्व कसले गर्ने र कुन दलसँग सहकार्य गर्ने भन्ने विषयमा सहमति नहुँदा बहुमतको गणित व्यवहारमा परिणत हुन सकेको छैन।

जसपा नेतृत्वको सरकारलाई एमाले र नेकपाको समर्थन रहने चर्चा भइरहे पनि एमालेले उपधारा (२) कै प्रक्रियाबाट सरकार बनाउनुपर्ने अडान राखेको छ। कांग्रेससमेत नेतृत्व परिवर्तनसहित नयाँ समीकरणको खोजीमा देखिएको छ। संविधानको धारा १६८(२) अनुसार सरकार गठन हुन नसकेपछि उपधारा (३) को व्यवस्था आकर्षण हुने संवैधानिक प्रश्न अहिले निर्णायक बनेको छ।

 उपधारा (३) ले प्रदेशसभामा सबैभन्दा बढी सदस्य भएको दलको संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था गरेको छ। सर्वोच्च अदालतको व्याख्याले पनि एउटा संवैधानिक चरण असफल भएपछि पुनः त्यही प्रक्रिया दोहोर्‍याउन नमिल्ने सिद्धान्त स्थापित गरेको छ। यद्यपि मुख्यमन्त्रीको राजीनामापछिको वर्तमान अवस्थालाई उक्त व्यवस्थासँग कसरी जोड्ने भन्ने विषयमा कानुनी व्याख्या आवश्यक छ।यस घटनाक्रमले मधेशमा अग्रगामी राजनीतिक मोर्चाको सम्भावनालाई समेत धक्का पुर्‍याएको छ।

मधेशी दलको नेतृत्वमा सरकार बनाउने सहमति र प्रतिबद्धताका बीच फेरि पुरानै प्रमुख दलहरूबीच सत्ता सहकार्यको कसरत हुनु राजनीतिक विश्वासमाथिको प्रश्न हो। सरकार ढाल्न बनेका गठजोडहरू सरकार गठनको बेला फेरि नयाँ स्वार्थमा जोडिनुले जनतामा राजनीतिक दलप्रतिको भरोसा कमजोर बनाउने जोखिम छ।

प्रदेशको विकास, सुशासन र जनअपेक्षाभन्दा मुख्यमन्त्रीको कुर्सीलाई प्राथमिकता दिने प्रवृत्तिले मधेशको राजनीतिक स्थिरतालाई थप चुनौती दिएको छ। अब प्रदेश प्रमुख कर्णको निर्णयले सरकार गठनको आगामी बाटो तय गर्नेछ।

दलहरूको दबाब र सत्ता समीकरणभन्दा संविधानको अक्षर, सर्वोच्च अदालतको नजिर र प्रदेशसभाको वास्तविक शक्ति सन्तुलनका आधारमा निर्णय लिनु उनको संवैधानिक दायित्व हो। थप समय दिएर उपधारा (२) कै प्रक्रिया अघि बढाउने वा उपधारा (३) अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा कानुनी आधार स्पष्ट हुन आवश्यक छ।

प्रदेश प्रमुखले संविधानको परिपालना गर्दै निष्पक्ष निर्णय गर्छन् कि राजनीतिक दबाबको घेरामा पर्छन् भन्ने प्रश्न अहिले मधेशको राजनीतिक वृत्तमा उठिरहेको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0