१९ वर्षपछि पत्रकार वीरेन्द्र साह हत्या प्रकरणका मुख्य अभियुक्त चौधरी कारागार चलान
कलैया , १४ कात्तिक, । बाराका पत्रकार वीरेन्द्रकुमार साहको अपहरण तथा हत्या भएको १९ वर्षपछि घटनाका मुख्य अभियुक्त लालबहादुर चौधरी धामी कारागार छछलान भएका छन्। चौधरी १२ गते अदालतमा उपस्थित भएका थिए ।
लामो समयदेखि फरार रहेका चौधरीलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि वीरगन्ज कारागार चलान गरेको छ। चौधरी बिहीबार जिल्ला अदालतमा उपस्थित भएका थिए।
२०६४ सालमा भएको पत्रकार साहको अपहरण तथा हत्यामा संलग्न रहेको अभियोग लागेका उनी घटनापछि फरार रहँदै आएका थिए।
२०६४ असोज १८ गते बाराको साविक उम्जन गाविसअन्तर्गत पिपरा बजारबाट पत्रकार साहलाई अपहरण गरिएको थियो। उनीसँगै रहेका रामदेव दासलाई समेत अपहरण गरिए पनि पछि मुक्त गरिएको थियो।
अपहरण भएको करिब ३५ दिनपछि २०६४ कात्तिक २२ गते बाराको साविक डुमरवाना गाविस–७ स्थित टाँगियाबस्ती नजिकको जंगलमा खाल्डोमा गाडिएको अवस्थामा साहको शव फेला परेको थियो। तालिम प्राप्त कुकुरको सहयोगमा ठुुलो रुख मुनि गाडेको शव फेेला परेको थियो।
अनुसन्धानका क्रममा उनलाई गोली प्रहार गरी हत्या गरिएको खुलेको थियो। साह एभिन्युज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा आबद्ध रहेर पत्रकारिता गर्दै आएका थिए।
तत्कालीन सशस्त्र द्वन्द्वको अन्त्यतिर भएको उक्त घटनामा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताहरू संदिप भन्ने लालबहादुर चौधरी (तत्कालिन माओवादीका जनसरकार प्रमुख) , कुन्दन भनिने नरेन्द्र फौजदार, हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी, मनेजर गिरी र रामएकवाल सहनी समेत अभियुक्तका रूपमा जोडिएको थियो।
घटनामा संलग्न रहेको आरोपमा मनेजर गिरी २०६५ असोज १९ गते र रामएकवाल सहनी सोही वर्ष पुस २१ गते पक्राउ परेका थिए।
उनीहरूविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाइएको थियो। अदालतले २०६८ जेठ १६ गते दुवैलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो। पछि बाँकी कैद मिनाहा भएपछि उनीहरू कारागारमुक्त भएका थिए।
लामो समय फरार रहेका कुन्दन भनिने नरेन्द्र फौजदार २०७६ फागुन २५ गते बारागढी गाउँपालिका–६ गडहलस्थित आफ्नै घरबाट पक्राउ परेका थिए।
त्यसैगरी हरेराम पटेल भनिने हरेरामप्रसाद कुर्मी २०७७ भदौ २५ गते कोल्हबी नगरपालिका–४ सपहीबाट पक्राउ परेका थिए। दुवैलाई पक्राउपछि अदालतमा पेस गरिएको थियो।
बारा जिल्ला अदालतले २०७८ पुस २६ गते गरेको फैसलामा नरेन्द्र फौजदारलाई पाँच वर्ष र हरेरामप्रसाद कुर्मीलाई दुई वर्ष कैद सजाय तोकेको थियो।
उनीहरू पनि सजाय भुक्तान गरेर कारागारमुक्त भइसकेका छन्। तर, घटनाका मुख्य अभियुक्तमध्येका एक मानिएका लालबहादुर चौधरी धामी भने लामो समयसम्म फरार रहँदै आएका थिए।
२०७९ वैशाखमा सार्वजनिक भएको विवरणमा समेत उनी फरार रहेको उल्लेख थियो। उनको खोजी तथा पक्राउको माग नेपाल पत्रकार महासङ्घलगायत पत्रकारिता क्षेत्रबाट निरन्तर उठ्दै आएको थियो।
पत्रकार साहको हत्यापछि नेपाल पत्रकार महासङ्घले घटनाको छानबिन गर्न समिति गठन गरेको थियो। महासङ्घको टोलीले २०६४ असोज २३ गते सार्वजनिक गरेको निष्कर्षमा तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताहरूको संलग्नता औँल्याइएको थियो।
घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै महासङ्घसहित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकार तथा मानवअधिकारसम्बन्धी संस्थाहरूले निरन्तर आवाज उठाउँदै आएका थिए।
करिब १९ वर्षदेखि फरार रहेका चौधरी अदालतमा उपस्थित भई पुर्पक्षका लागि कारागार चलान भएपछि पत्रकार वीरेन्द्र साह हत्या प्रकरणमा लामो समयदेखि बाँकी रहेको कानुनी प्रक्रिया अघि बढेको छ। हत्यामा संलग्न ५ जना मध्ये चौदधरी अन्तिम अभियुक्त पक्राउ परेको छ। बर्षौको पर्खाई पछि पिडित परिवारले न्यायको अनुभुति गरेको स्व.पत्रकार साहका भाईा भैयाराम साहले बताए।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0