प्रादेशिक अस्पताल मलंगवामा नियमित खोप सेवाको उद्धघाटन

Nov 20, 2026 - 09:12
 0  17
प्रादेशिक अस्पताल मलंगवामा नियमित खोप सेवाको उद्धघाटन

मलंगवा,४ मंसिर । प्रादेशिक अस्पताल मलंगवामा बालबालिकालाई नियमित खोप सेवा उपलब्ध गराउने उद्देश्यले खोप केन्द्र सञ्चालनमा ल्याइएको छ।

अस्पताल विकास व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र यादवको अध्यक्षता तथा मलंगवा नगरपालिकाका नगरप्रमुख नागेन्द्र यादवको प्रमुख आतिथ्यतामा बुधबार केन्द्रको उद्घाटन गरिएको हो।

 उद्घाटन कार्यक्रममा मधेश प्रदेश मिडिया काउन्सिलका अध्यक्ष वन्दना झा, नेपाल पत्रकार महासङ्घ सर्लाहीका अध्यक्ष ओमप्रकाश ठाकुर, मलंगवा नगरपालिकाका कर्मचारी तथा जनस्वास्थ्य कार्यालयका खोप अधिकृत (भेकनि) मनोज झा लगायतका उपस्थिति रहेको थियोो।

नयाँ सञ्चालनमा आएको खोप केन्द्रबाट प्रत्येक हप्ताको शुक्रबार नियमित रूपमा खोप सेवा प्रदान गरिनेछ। राष्ट्रिय खोप तालिकाअनुसार बालबालिकालाई १३ वटा रोगविरुद्धका खोप उपलब्ध गराइने मलंगवा नगरपालिकाका स्वास्थ्य संयोजक विष्णुकान्त साहले जानकारी गराएका छन्।

उहाँका अनुसार नियमित खोप सेवामार्फत बालबालिकालाई पूर्ण खोपको पहुँचमा ल्याउने लक्ष्य राखिएको छ। खोप सेवा सञ्चालनले बालबालिकाको स्वास्थ्य सुरक्षा र रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रादेशिक अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीव झाले बालबालिकालाई निर्धारित समयमा खोप लगाउने व्यवस्था मिलाउन तथा अभिभावकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन केन्द्र सञ्चालन गरिएको बताएका छन्।

 उनले अस्पतालमै नियमित खोप सेवा उपलब्ध भएपछि स्थानीय बालबालिका तथा अभिभावकलाई खोप लगाउन सहज हुने विश्वास व्यक्त गरेका छन्।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0