भारतीय मोटरसाइकलको ठक्करबाट युवकको मृत्यु, चालक फरार
सरोज दास।
बारा,६ मंसिर । बाराको सुवर्ण गाउँपालिका–३ सन्तगन्ज पुलनजिक भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
पैदल हिँडिरहेका युवकलाई ठक्कर दिएर मोटरसाइकल चालक फरार भएका छन् । शनिबार साँझ सडक किनारबाट हिँडिरहेका भारतको बिहार राज्यअन्तर्गत महुआवा थाना, महुआवा पञ्चायत–६ निवासी चन्द्रिका ठाकुरका करिब २५ वर्षीय छोरा विक्रम शर्मा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका थिए ।
घाइते शर्मालाई उपचारका लागि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज पुर्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको उनका बुवा चन्द्रिका ठाकुरले जानकारी दिए । मृतकको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।
बुवाका अनुसार सन्तगन्ज नाका र गाउँ नजिकै रहेकाले शर्मा पैदल घुम्न निस्किएका बेला दुर्घटनामा परेका थिए । प्रहरी ड्युटी रहेको स्थानबाट करिब १० मिटरको दूरीमा दुर्घटना भएको दाबी गर्दै उनले मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिन नसकेकोप्रति असन्तुष्टि जनाएका छन् ।
उनले प्रहरीले नै चालक र मोटरसाइकल भगाएको आरोपसमेत लगाएका छन् । दुर्घटनामा संलग्न मोटरसाइकलको नम्बर र चालकको पहिचान अझै हुन सकेको छैन ।
घटनापछि फरार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ भने दुर्घटनामा संलग्न भारतीय नम्बर प्लेटको मोटरसाइकलको खोजी कार्य जारी छ ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0