प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, भारतीय राज्यमन्त्रीद्वारा स्वागत

Nov 22, 2026 - 16:34
 0  19
प्रधानमन्त्री बालेन नयाँ दिल्लीमा, भारतीय राज्यमन्त्रीद्वारा स्वागत

काठमाडौं , मंसिर ६ । प्रधानमन्त्री बालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार भारतको राजधानी नयाँ दिल्ली पुगेका छन्।

प्रधानमन्त्री शाहलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरेका छन्। प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलसहित नेपाल वायुसेवा निगमको विमानबाट दिल्ली पुगेका हुन्।

भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य तथा राजनीतिक सल्लाहकारसहित उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी र पत्रकार गरी ३४ जना सहभागी छन्।

निजी क्षेत्रका ५२ जना व्यवसायी पनि आफ्नै खर्चमा भ्रमणमा सहभागी भएका छन्। दिल्ली पुगेपछि प्रधानमन्त्री शाह होटल ताजमहल जाने कार्यक्रम छ। त्यहाँ आइतबार साँझ भारतीय विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्नेछन्। पहिलो दिनका लागि उक्त भेटबाहेक अन्य औपचारिक कार्यक्रम तय गरिएको छैन।

भ्रमणको दोस्रो दिन सोमबार प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उच्चस्तरीय वार्ता गर्नेछन्। बिहान महात्मा गान्धीको समाधिस्थल राजघाटमा श्रद्धाञ्जली अर्पण गरेपछि हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। त्यसअघि शाह र मोदीबीच छुट्टै भेटवार्ता गर्ने कार्यक्रमसमेत छ। मोदीसँगको वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायत क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषय प्राथमिकतामा रहनेछ। दुवै देशबीच ऊर्जा तथा सम्पर्क सञ्जालसँग सम्बन्धित सम्पन्न परियोजनाको संयुक्त उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने तयारी पनि छ।

त्यसैगरी शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासलगायत क्षेत्रमा सहकार्यसम्बन्धी समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको छ। वार्तापछि प्रधानमन्त्री शाह र मोदीबीच सहमति तथा सम्झौता आदानप्रदान र संयुक्त पत्रकार सम्मेलन हुनेछ। सोमबार अपराह्न प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गर्नेछन्।

 राष्ट्रपति निवासमा हुने भेटपछि उनी अपराह्न ४ बजेर ५० मिनेटमा स्वदेश फर्कने तालिका रहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। नेपाल सरकारले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई राष्ट्रहित र दुई देशबीचको सम्बन्ध थप सुदृढ बनाउने उद्देश्यमा केन्द्रित रहेको जनाएको छ। भ्रमणका क्रममा हुने उच्चस्तरीय वार्ता र सम्झौताले द्विपक्षीय आर्थिक तथा विकास सहकार्यलाई थप गति दिने अपेक्षा गरिएको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0