शान्ति सुरक्षा प्रभावकारी बनाउन मन्त्री महतोको निर्देशन
शान्ति सुरक्षा प्रभावकारी बनाउन मन्त्री महतोको निर्देशन
सर्लाही, असोज २७। मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले प्रदेशमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायहरूबीच समन्वय र सहकार्य थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
उनले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सुरक्षा व्यवस्था चुस्त, भरपर्दो र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्। जनकपुरधामस्थित गृह, सञ्चार तथा कानून मन्त्रालयमा मन्त्री महतोको अध्यक्षतामा बसेको प्रदेश सुरक्षा समन्वय समिति र पर्सा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूको संयुक्त बैठकमा उनले सुरक्षा निकायलाई जिम्मेवारीपूर्वक कार्यसम्पादन गर्न निर्देशन दिएका हुन्।
बैठकमा मधेश प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्था, पर्सा जिल्लामा देखिएका सुरक्षा चुनौती तथा तिनको समाधानका लागि अपनाउनुपर्ने आगामी रणनीतिबारे छलफल भएको थियो। समाजमा अमनचयन कायम राख्न र नागरिकलाई सुरक्षित वातावरण उपलब्ध गराउन सुरक्षा निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको मन्त्री महतोको भनाइ थियो।
उनले प्रदेश र जिल्लास्तरमा सुरक्षा व्यवस्थालाई व्यवस्थित बनाउन सूचना आदानप्रदान, आपसी समन्वय र सहकार्यलाई सुदृढ गर्नुपर्नेमा जोड दिए। सुरक्षा निकायहरूबीच आवश्यक तालमेल भएमा विद्यमान चुनौतीको सामना गर्न तथा सम्भावित सुरक्षा जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने उनको भनाइ थियो।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाका स्थानीय प्रमुख तथा उच्च सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।
सहभागी अधिकारीहरूले प्रदेश र पर्सा जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराउँदै विद्यमान चुनौतीको सामना गर्न र आगामी दिनमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन आवश्यक रणनीतिबारे विचारविमर्श गरेका थिए।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0