मधेशको मुख्यमन्त्रीमा सरोजकुमार यादव नियुक्त
जनकपुरधाम, ५ मंसिर । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन्।
प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (३) बमोजिम शनिबार यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार संविधानको धारा १६८ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरिएको थियो। त्यसका लागि शुक्रबार दिउँसो ४ बजेसम्म दाबी पेस गर्न समय दिइए पनि कुनै पनि दल वा प्रदेशसभा सदस्यले दाबी पेस गरेनन्।
बहुमतको सरकार गठनका लागि तोकिएको समयभित्र दाबी नपरेपछि प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादवलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
बारा निवासी यादव यसअघि पनि मधेश प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। उनको पुनः नियुक्तिसँगै प्रदेशको राजनीतिक नेतृत्वमा नयाँ चरण सुरु भएको छ। मुख्यमन्त्रीमा नियुक्त यादवले अब संविधानअनुसार प्रदेशसभाबाट विश्वासको मत लिनुपर्नेछ। प्रदेशसभाको अंकगणित र दलहरूबीचको राजनीतिक समीकरणले उनको आगामी कार्यकालको दिशा तय गर्नेछ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0