एम्बुलेन्समा गाँजा तस्करी, ५७४ किलो बढी बरामद

Oct 19, 2026 - 17:19
 0  8
एम्बुलेन्समा गाँजा तस्करी, ५७४ किलो बढी बरामद

एम्बुलेन्समा गाँजा तस्करी, ५७४ किलो बढी बरामद ‘नेपाल–भारत सहयोग’ लेखिएको एम्बुलेन्स बूढी खोलाको किनारमा फेला, चालकसहित संलग्न फरार

२ कात्तिक, सुनसरी । बिरामी बोक्ने एम्बुलेन्समा गाँजा राखेर ओसारपसार भइरहेको अवस्थामा सुनसरी प्रहरीले ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ।

 ‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको एम्बुलेन्स दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि इटहरीबाट विराटनगरतर्फ जाने कोशी राजमार्गमा गाँजा बोकेको एम्बुलेन्स गुडिरहेको सूचना प्राप्त भएको थियो।

सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबीको संयुक्त प्रहरी टोलीले खोजतलास गर्दा गाँजासहितको एम्बुलेन्स फेला पारेको थियो। ना.४ च ६०६३ नम्बरको उक्त एम्बुलेन्सका चालक र गाँजा ओसारपसारमा संलग्न व्यक्ति फरार छन्। एम्बुलेन्स कुन संस्थाको हो भन्ने खुलेको छैन।

 नक्कली नम्बर प्लेट प्रयोग गरिएको वा सामान्य सवारीसाधनलाई एम्बुलेन्सको स्वरूप दिएर प्रहरीलाई झुक्याउन खोजिएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ।

यसैबीच, प्रहरीले भोक्राहा नरसिंह गाउँपालिका–२ निवासी अर्सद अन्सारीको घरमा पार्किङ गरिएको भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट ब्राउनसुगर र प्रतिबन्धित औषधिका ट्याब्लेट बरामद गरेको छ।

सोमबार बिहान करिब ९ बजे जाँच गर्दा बीआर ३८ एजे ७३१२ नम्बरको मोटरसाइकलबाट ३ ग्राम ६३० मिलिग्राम ब्राउनसुगर, ७२ ट्याब्लेट स्पाज्मो र ९० ट्याब्लेट नित्जासेसीन बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले अन्सारीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवामा राखेको छ। दुवै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0