Author: दाश पन्न्नालाल

  • रहरियाडिह हत्याकाण्ड खुल्दै : बुहारी–प्रेमीको गोप्य सम्बन्धबाट अपराधसम्म

    रहरियाडिह हत्याकाण्ड खुल्दै : बुहारी–प्रेमीको गोप्य सम्बन्धबाट अपराधसम्म

    दास पन्नालाल

    कलैया, १४ माघ।

    बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीहमा भएको आमा–छोराको दोहोरो हत्याकाण्ड प्रेम सम्बन्धबाट उत्पन्न आपराधिक योजनाको परिणाम भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। घटनामा संलग्न रहेको आरोपमा बुहारी र उनका प्रेमीलाई प्रहरीले पक्राउ गरेको छ।
    प्रहरीका अनुसार २३ वर्षीया मनिता देवी मण्डलले आफ्ना प्रेमी धमेन्द्र महतोसँग मिलेर सासु सुमित्रा देवी मण्डल र श्रीमान् रामेश्वर मण्डलको धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको छ।
    सोही आक्रमणमा परिवारका अन्य दुई सदस्य गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मृतकका श्रीमान् जगरुप महतो र नन्द रिना कुमारी मण्डल रहेका छन्। उनीहरूको परवानीपुरस्थित एल.एस. न्यूरो अस्पतालमा उपचार भइरहेको छ।
    बाराका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार घटनाको मुख्य योजनाकार मनिता देवी मण्डल नै रहेको देखिएको छ। उनका प्रेमी धमेन्द्र महतो वैदेशिक रोजगारीका लागि दुबईमा कार्यरत थिए। उनी माघ १२ गते नेपाल फर्किएपछि मानितासँग भेटघाट गरी हत्या योजना कार्यान्वयन गरेको खुलेको प्रहरीले जनाएको छ।
    घटनापछि प्रहरीले मानितालाई घरमैबाट र धमेन्द्रलाई वीरगञ्जबाट पक्राउ गरेको हो। हाल दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
    यो जघन्य घटनाले स्थानीय समाजलाई स्तब्ध बनाएको छ भने पारिवारिक सम्बन्धभित्र लुकेको द्वन्द्व र असहिष्णुताले कसरी भयावह अपराध निम्त्याउन सक्छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ।
    प्रहरीका अनुसार अनुसन्धानका थप तथ्य सार्वजनिक हुने क्रम जारी रहनेछ।

  • रहरियाडिह हत्याकाण्डले गाउँ शोकमा, अपराधी खोज्न तालिमप्राप्त कुकुरसहित सघन अनुसन्धान

    रहरियाडिह हत्याकाण्डले गाउँ शोकमा, अपराधी खोज्न तालिमप्राप्त कुकुरसहित सघन अनुसन्धान

    बारा, १४ माघ।
    बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडिहमा बुधबार बिहान भएको निर्मम हत्याकाण्डले सम्पूर्ण गाउँ शोक र त्रासमा डुबेको छ। अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी आमा–छोराको विभत्स हत्या गरेका छन्।

    ज्यान गुमाउनेमा ५२ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डल रहेका छन्। सोही आक्रमणमा परिवारका अन्य तीन सदस्य गम्भीर घाइते भएका छन्। घाइते हुनेहरूमा मृतकका श्रीमान जगरुप मण्डल र छोरी रिना कुमारी रहेका छन्।
    घाइतेहरूको परवानीपुरस्थित एल.एस. न्यूरो अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनीहरूको अवस्था चिन्ताजनक रहेको छ।

    घटनापछि जिल्ला प्रहरी कार्यालय बाराले घटनास्थल सिल गरी अनुसन्धान तीव्र बनाएको छ। प्रहरी नायब उपरीक्षक (DSP) विजयराज पाण्डेका अनुसार अपराधी पत्ता लगाउन प्रदेश प्रहरी कार्यालय जनकपुरबाट तालिमप्राप्त कुकुर झिकाई सूक्ष्म अनुसन्धान सुरु गरिएको छ।

    यस हृदयविदारक घटनाले स्थानीय बासिन्दालाई स्तब्ध बनाएको छ। शान्त गाउँमा यति निर्मम अपराध भएपछि स्थानीयमा सुरक्षा प्रति गम्भीर प्रश्न उठेको छ।


    यसैबीच, नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र नं. ४ का प्रत्यासी नेता कृष्ण कुमार श्रेष्ठ (किसान) ले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले मृतक परिवारप्रति समवेदना प्रकट गर्दै दोषीलाई तत्काल पहिचान गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

    साथै, घाइतेहरूको उपचारमा कुनै पनि लापरबाही नगर्न प्रशासनलाई आग्रह गरेका छन्।
    प्रहरीका अनुसार अनुसन्धान जारी रहेको छ भने दोषी चाँडै सार्वजनिक गरिने विश्वास व्यक्त गरिएको छ।

  • परवानीपुरमा रातको निस्तब्धता चिर्दै हिंस्रक आक्रमण, आमा र छोराको हत्या, तीन घाइते

    परवानीपुरमा रातको निस्तब्धता चिर्दै हिंस्रक आक्रमण, आमा र छोराको हत्या, तीन घाइते

    बारा । बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीहमा मध्यराति भएको सामूहिक आक्रमणले सिंगो क्षेत्र स्तब्ध बनेको छ। अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी एकै परिवारमाथि हमला गर्दा आमा र छोराको ज्यान गएको छ भने अन्य तीन जना गम्भीर घाइते भएका छन्।
    प्रहरीका अनुसार माघ १४ गते बिहान करिब ३ बजेको समयमा जगरुप महतो धानुकको घरमा आक्रमण भएको हो। घरमै सुतिरहेका परिवारका सदस्यहरूलाई लक्षित गरी गरिएको आक्रमणमा ५२ वर्षीया महिला र उनका ३२ वर्षीय छोरा रामिश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
    आक्रमणमा परेका अन्य तीन जना परिवारका सदस्यलाई तत्काल उद्धार गरी परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको छ। अस्पताल स्रोतका अनुसार उनीहरूको अवस्था गम्भीर रहेको र निरन्तर उपचार भइरहेको छ।
    घटनाको कारण खुल्न नसकेको भन्दै जिल्ला प्रहरी कार्यालय बाराले अनुसन्धान तीव्र बनाएको जनाएको छ। प्रहरी स्रोतका अनुसार प्रारम्भिक चरणमा व्यक्तिगत रिसइवी, पुरानो विवाद वा योजनाबद्ध आपराधिक गतिविधिका सम्भावनालाई ध्यानमा राखी सबै कोणबाट छानबिन भइरहेको छ। आक्रमणकारीको पहिचान र पक्राउका लागि विशेष टोली परिचालन गरिएको छ।
    घटनापछि रहरियाडीह गाउँ र आसपासका क्षेत्रमा त्रासको वातावरण छाएको छ। स्थानीय बासिन्दा राति घरबाहिर ननिस्कने अवस्था सिर्जना भएको बताएका छन्। सम्भावित थप घटना रोक्न प्रहरीले गाउँमा सुरक्षा गस्ती बढाएको छ भने शंकास्पद गतिविधि देखिए तत्काल जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
    निर्दोष आमा र छोराको ज्यान जाने गरी भएको यस हृदयविदारक घटनाले परवानीपुर मात्र होइन, सम्पूर्ण बारा जिल्लालाई शोक र आक्रोशमा डुबाएको छ। प्रहरीले दोषीलाई छिट्टै कानुनी दायरामा ल्याइने आश्वासन दिएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी डिएसपी विजयराज पंडितले घटना सूक्ष्म अनुसन्धानमा प्रहरी जुटेको छ ।अपराधी उमक्न पाउदैन।घटनकाो सूचना पाए लगतै वपक प्रहरी परिचालन गरि तिब्र छानबिन भईरहेको छ।

  • वीरगञ्जमा भारतीय महावाणिज्य दूतावासद्वारा ७७औँ गणतन्त्र दिवस सम्पन्न

    वीरगञ्जमा भारतीय महावाणिज्य दूतावासद्वारा ७७औँ गणतन्त्र दिवस सम्पन्न

    १२ माघ,वीरगञ्ज । भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आइतबार विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। दूतावास परिसरमा आयोजित समारोहमा भारतका महावाणिज्यदूत डी. एस. मीनाले राष्ट्रिय झण्डा तिरंगा फहराउँदै कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए।
    समारोहका क्रममा महावाणिज्यदूत मीनाले भारतका राष्ट्रपतिको सन्देश वाचन गर्दै लोकतन्त्र, संविधान र राष्ट्रिय एकताको महत्वबारे चर्चा गरे। उनले गणतन्त्र दिवसले नागरिकलाई अधिकारसँगै कर्तव्यप्रति पनि जिम्मेवार बन्न प्रेरित गर्ने उल्लेख गरे।
    कार्यक्रममा वीरगञ्जका शिक्षा विद्यालयसहित विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूले देशभक्ति गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूको प्रस्तुति मार्फत भारतको सांस्कृतिक विविधता र राष्ट्रप्रेमलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो।
    समारोहमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पूर्व केन्द्रीय मन्त्री, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरू, उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधि तथा नेपाल–भारत उद्योग वाणिज्य संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
    दूतावासका अनुसार कार्यक्रममा कवि, व्यापारी, नेपाल–भारत मैत्री संघका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थी गरी विभिन्न क्षेत्रका करिब पाँच सय जनाको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमले नेपाल–भारतबीचको मैत्री सम्बन्धलाई थप सुदृढ बनाएको प्रतिक्रिया दिएका छन्।

  • बारा–२ का सांसद प्रत्यासीह दुर्घटनामा घाइते, उपचार जारी

    बारा–२ का सांसद प्रत्यासीह दुर्घटनामा घाइते, उपचार जारी

     

    ८ माघ,बारा । प्रतिनिधिसभा निर्वाचनको चहलपहल बढिरहेका बेला बारा क्षेत्र नम्बर–२ बाट उम्मेदवार बनेका जनमत पार्टीका नेता सिए राजेश साह सवारी दुर्घटनामा घाइते भएका छन्।

    कलैयाबाट आफ्नै निवासतर्फ जाँदै गर्दा पचरौता नगरपालिका–५ (चिकनी गाँउ) नजिक विपरीत दिशाबाट आएको मोटरसाइकलसँग ठोक्किँदा कुशवाहा दुर्घटनामा परेका हुन्। दुर्घटनामा उनको दाहिने खुट्टामा गम्भीर चोट लागेको जनमत पार्टी मधेस प्रदेश समितिका सदस्य गजानन्द यादवले जानकारी दिए।

    घाइते कुशवाहालाई तत्काल उद्धार गरी कलैयास्थित एपल्स अस्पताल पुर्‍याइएको छ, जहाँ उनको उपचार भइरहेको छ। चिकित्सकका अनुसार अवस्था गम्भीर भए पनि खतरा भने टरेको जनाइएको छ।

    निर्वाचनको मुखमा भएको यस दुर्घटनाले बारा–२ को चुनावी माहोलमा चासो थपेको छ। साह हाल जनमत पार्टीका तर्फबाट सक्रिय चुनावी अभियानमा रहेका थिए।
    दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

  • रास्वपाले बारामा टुङ्गयायो उम्मेदवार

    रास्वपाले बारामा टुङ्गयायो उम्मेदवार

    ६ माघ,कलैया । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन लाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बारा जिल्लाका चारै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारको टुंगो लगाएको छ। उम्मेदवार चयनसँगै रास्वपाले बारामा औपचारिक रूपमा चुनावी प्रतिस्पर्धामा प्रवेश गरेको संकेत दिएको छ।

    पार्टी निर्णयअनुसार बारा निर्वाचन क्षेत्र नम्बर १ बाट गणेश धिमाल, क्षेत्र नम्बर २ बाट चन्दन सिंह, क्षेत्र नम्बर ३ बाट इञ्जिनियर अरबिन्द साह र क्षेत्र नम्बर ४ बाट रहबर अन्सारी लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अघि सारिएको छ।

    निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज माघ ६ गते मनोनयन दर्ता हुँदैछ। सोही सन्दर्भमा रास्वपाले समयमै उम्मेदवार टुंग्याउँदै संगठन परिचालन, चुनावी सन्देश र मतदाता सम्पर्क अभियानलाई तीव्र बनाउने तयारी थालेको जनाएको छ।

  • एमाले छोडदै जनप्रतिनिधि,कलैयामा एमालेबाट निर्वाचित वडा सदस्य दासको राजीनामा

    एमाले छोडदै जनप्रतिनिधि,कलैयामा एमालेबाट निर्वाचित वडा सदस्य दासको राजीनामा

     

    ५ माघ,माघ । कलैया उप महानगरपालिका–१ का वडा सदस्य तथा स्थानीय तहमा सक्रिय युवा नेता शशि दासले आफ्नो पदबाट राजीनामा दिएका छन्। नेकपा (एमाले) बाट निर्वाचित दासले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीस्वरूप वडा सदस्य पद त्यागेको बताएका छन्।
    दास हाल समुन्नत नेपाल पार्टीको केन्द्रीय सदस्यसमेत भइसकेका छन्। उनले बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिने निर्णय भएको जानकारी दिएका छन्। पार्टीको नीति, सिद्धान्त र जिल्लाको समग्र विकासका लागि नयाँ जिम्मेवारी लिन चाहेकाले स्थानीय तहको पदबाट अलग भएको उनको भनाइ छ। शशि दासले कलैया उपमहानगरपालिकाका नगर प्रमुखसमक्ष नगर कार्यपालिका सदस्य पदबाट औपचारिक रूपमा राजीनामा बुझाएका हुन्। स्थानीय तहमा रहँदा शिक्षा, स्वास्थ्य, खानेपानी तथा आधारभूत पूर्वाधार विकासका क्षेत्रमा आफूले सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गर्दै उनले जनताको विश्वास र समर्थनका आधारमा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
    उनको राजीनामासँगै कलैया उपमहानगरपालिका वडा नम्बर १ मा वडा सदस्य पद रिक्त भएको छ। नगरपालिकाका अनुसार रिक्त पद पूर्तिका लागि कानुनी प्रक्रिया अनुसार आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।
    शशि दासको राजीनामालाई स्थानीय राजनीतिमा महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ। आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उनको कदमले बारा–३ को राजनीतिक समीकरणमा नयाँ बहस र चासो थपिएको छ।

  • एमालेले प्रतिनिधिसभाका लागि, बाराको चारै क्षेत्रमा उम्मेद्वार टुङ्गयायो, १ मा मैनाली सिफारिस

    एमालेले प्रतिनिधिसभाका लागि, बाराको चारै क्षेत्रमा उम्मेद्वार टुङ्गयायो, १ मा मैनाली सिफारिस

    पन्नालाल दास– 

    ३ माघ,काठमान्डौ / बारा-–  नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको अन्तिम सूची स्वीकृत गरेको हो।

    एमाले अध्यक्ष स्वयम् झाापाको ५ मा केपी शर्मा ओली लडने तय भएको छ। यद्धपी उनले कुन क्षेत्रबाट चुनाव लडने  आफै निर्णय लिने छन्। उपपमहासचिव लेखराज भट्टका अनुसार छलफल हुन बाँकी केही निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ।

    धेरैजसो क्षेत्रमा सहमति जुटिसकेको छ, केही स्थानमा थप परामर्श आवश्यक भएकाले अध्यक्षलाई जिम्मेवारी दिइएको हो । एमालेले निर्वाचन तयारीलाई तीव्र बनाउँदै संगठन परिचालन र चुनावी रणनीति कार्यान्वयनतर्फ केन्द्रित हुने निर्णय पनि बैठकले गरेको छ।

    बारा जिल्लामा एमालेका उम्मेदवार सचिवालय बैठकले बारा जिल्लाका चारै निर्वाचन क्षेत्रका लागि उम्मेदवार पनि सार्वजनिक गरेको छ। एमालेका अनुसार बारा जिल्लामा निम्न नेताहरू उम्मेदवार बनेका छन्—
    बारा निर्वाचन क्षेत्र–१ : अच्युत मैनाली
    बारा निर्वाचन क्षेत्र–२ : बलवीर चौधरी
    बारा निर्वाचन क्षेत्र–३ : ज्वाला शाह
    बारा निर्वाचन क्षेत्र–४ : किसान श्रेष्ठ
    एमाले स्रोतका अनुसार बारा जिल्लामा संगठनात्मक सन्तुलन, स्थानीय प्रभाव, विगतको चुनावी प्रदर्शन र कार्यकर्ताको सुझावका आधारमा उम्मेदवार छनोट गरिएको हो।

    एमालेले उम्मेदवार टुंग्याएसँगै अब चुनावी प्रचार, जनसम्पर्क र गठबन्धनबाहिरको प्रतिस्पर्धालाई प्राथमिकतामा राख्ने जनाएको छ। पार्टीले स्थिर सरकार, विकास र राष्ट्रिय स्वाभिमानको मुद्दालाई मुख्य चुनावी एजेन्डा बनाउने रणनीति तय गरेको बताइएको छ।

    यससँगै उम्मेदवार चयनमा असन्तुष्ट पक्षलाई समेट्ने र पार्टीभित्र एकता कायम गर्दै निर्वाचनमा होमिने एमालेको तयारी रहेको नेताहरूले बताएका छन्।प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा एमालेसहित अन्य दलहरूले पनि उम्मेदवार टुंग्याउने क्रम तीव्र बनाएका छन्।

  • विशेष महाधिवेशनबाट चुनिएका कांग्रेसका सभापति गगन थापा अधिकारिक: निर्वाचन आयोग, देउवा पक्षधर असन्तुष्ट

    विशेष महाधिवेशनबाट चुनिएका कांग्रेसका सभापति गगन थापा अधिकारिक: निर्वाचन आयोग, देउवा पक्षधर असन्तुष्ट

     

    मुन्ना कुमार

    | २ माघ, काठमाडौं — निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनलाई वैध ठहर गर्दै गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिक मान्यता दिएको छ। यससँगै पार्टीभित्र लामो समयदेखि जारी आधिकारिकता विवाद कानुनी रूपमा अन्त्य भएको छ।‍

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयोगका बहुमत पदाधिकारीले विशेष महाधिवेशन पार्टीको सर्वोच्च निकाय भएको निष्कर्ष निकाल्दै त्यसबाट निर्वाचित नेतृत्वलाई वैधानिक ठहर गरेका हुन्। एक जना आयुक्तले असहमति जनाए पनि निर्णय विधान, राजनीतिक दलसम्बन्धी ऐन र लोकतान्त्रिक मूल्य–मान्यताका आधारमा गरिएको आयोगले जनाएको छ।

    आयोगले कांग्रेस विधानको दफा १७(२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको माग परेपछि विशेष महाधिवेशन अनिवार्य हुने व्यवस्था लागू हुने स्पष्ट पारेको छ। केन्द्रीय समितिले समयमै महाधिवेशन नबोलाएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन प्रक्रिया वैधानिक रहेको आयोगको ठहर छ।
    निर्वाचन आयोगले महाधिवेशन प्रतिनिधि नै पार्टीको सर्वोच्च प्रतिनिधि हुने सिद्धान्त पुनः पुष्टि गर्दै विशेष महाधिवेशनमा बहुमत सहभागिता, पारदर्शी प्रक्रिया र निर्णयमा देखिएको सहमतिका आधारमा त्यसलाई पूर्ण रूपमा मान्यता दिएको हो। महाधिवेशनपछि केही प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबीलाई आयोगले निर्णायक मानेन।


    निर्णयसँगै आयोगले दल दर्ता अभिलेखबाट शेरबहादुर देउवा नेतृत्वको साबिक केन्द्रीय कार्यसमितिको नाम हटाई गगन थापा सभापति रहेको नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्देशन दिएको छ।
    आयोगको निर्णय सार्वजनिक भएपछि देउवा पक्षधर नेता–कार्यकर्ताले असन्तुष्टि जनाउँदै विरोध प्रदर्शन गरेका छन्। कान्तिपथ क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। आयोगले भने निर्णय पूर्णतः कानुनी प्रक्रिया र दस्तावेजका आधारमा भएको स्पष्ट पारेको छ।
    विश्लेषकहरूका अनुसार यो निर्णयले दलभित्र विधानको पालना, प्रतिनिधिको सर्वोच्चता र संस्थागत लोकतन्त्रलाई बलियो बनाउने दूरगामी नजिर स्थापित गरेको छ।

  • ज्ञान खबरको दोस्रो वार्षिक उत्सव सम्पन्न

    ज्ञान खबरको दोस्रो वार्षिक उत्सव सम्पन्न

    २ माघ,कलैया । ज्ञान खबर दैनिकको दोस्रो वार्षिक उत्सव आज एक कार्यक्रमका बीच सम्पन्न भएको छ। कार्यक्रमको अवसरमा केक काटेर वार्षिक उत्सव मनाइएको हो।
    वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारी मधेश प्रदेशका महासचिव दिवाकर भण्डारीले ज्ञान खबर दैनिकको उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरे। उनले निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत समाजलाई सुसूचित गर्न पत्रिकाले निरन्तर भूमिका खेलोस् भन्ने शुभेच्छा व्यक्त गरे।
    यसैगरी नेपाल पत्रकार महासंघ बारा शाखाका उपाध्यक्ष पन्नालाल दासले ज्ञान खबर दैनिकको दोस्रो वार्षिक उत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै दैनिक पत्रिका प्रकाशन गर्नु आफैंमा चुनौतीपूर्ण कार्य रहेको बताए। उनले विज्ञापनका नाममा कमिसनको गन्ध आउने प्रवृत्ति चिन्ताजनक रहेको उल्लेख गर्दै यसलाई सम्बन्धित सरोकारवालाले तत्काल बन्द गर्नुपर्ने आवश्यकता औंल्याए। यस्तो विकृतिको न्यूनिकरणका लागि नेपाल पत्रकार महासंघले पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।
    कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व उपाध्यक्ष राकेश पाण्डेले पनि ज्ञान खबर दैनिकको सफलताको कामना गर्दै पत्रकारितामा इमानदारी र व्यावसायिकताको आवश्यकता औंल्याए।
    वार्षिक उत्सव कार्यक्रम सह–सम्पादक जिउत यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम सञ्चालन अनिल गौरवले गरेका थिए।
    ज्ञान खबर दैनिकको प्रकाशन तथा सञ्चालन प्रकाशक अनिल गौरव, भोला पौडेल र जिउत यादवले संयुक्त रूपमा गर्दै आएका छन्।