वीरगञ्जमा भारतीय महावाणिज्य दूतावासद्वारा ७७औँ गणतन्त्र दिवस सम्पन्न

१२ माघ,वीरगञ्ज । भारतको ७७औँ गणतन्त्र दिवसको अवसरमा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले आइतबार विशेष कार्यक्रम आयोजना गरी दिवस मनाएको छ। दूतावास परिसरमा आयोजित समारोहमा भारतका महावाणिज्यदूत डी. एस. मीनाले राष्ट्रिय झण्डा तिरंगा फहराउँदै कार्यक्रमको औपचारिक सुरुवात गरेका थिए।
समारोहका क्रममा महावाणिज्यदूत मीनाले भारतका राष्ट्रपतिको सन्देश वाचन गर्दै लोकतन्त्र, संविधान र राष्ट्रिय एकताको महत्वबारे चर्चा गरे। उनले गणतन्त्र दिवसले नागरिकलाई अधिकारसँगै कर्तव्यप्रति पनि जिम्मेवार बन्न प्रेरित गर्ने उल्लेख गरे।
कार्यक्रममा वीरगञ्जका शिक्षा विद्यालयसहित विभिन्न १२ वटा विद्यालयका विद्यार्थीहरूले देशभक्ति गीत, नृत्य तथा सांस्कृतिक प्रस्तुति दिएका थिए। विद्यार्थीहरूको प्रस्तुति मार्फत भारतको सांस्कृतिक विविधता र राष्ट्रप्रेमलाई जीवन्त रूपमा प्रस्तुत गरिएको थियो।
समारोहमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, पूर्व केन्द्रीय मन्त्री, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरू, उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधि तथा नेपाल–भारत उद्योग वाणिज्य संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
दूतावासका अनुसार कार्यक्रममा कवि, व्यापारी, नेपाल–भारत मैत्री संघका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थी गरी विभिन्न क्षेत्रका करिब पाँच सय जनाको सहभागिता रहेको थियो। सहभागीहरूले कार्यक्रमले नेपाल–भारतबीचको मैत्री सम्बन्धलाई थप सुदृढ बनाएको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *