Author: दाश पन्न्नालाल
-
केपी ओली र लेखक १३ दिनपछि हिरासतमुक्त
ओली र लेखक १३ दिनपछि हिरासतमुक्त

२६ चैत्र, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक १३ दिनको हिरासतपछि रिहा भएका छन्।
ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनकी पत्नी राधिका शाक्यसहित आफन्तको जिम्मा लगाएर मुक्त गरेको हो। स्वास्थ्य परीक्षणका क्रममा अस्पतालमै रहेका उनलाई त्यहीँबाट रिहाइ प्रक्रिया पूरा गरिएको जनाइएको छ।
यस्तै, नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पनि हिरासतबाट रिहा भएका छन्। उनलाई हाजिर जमानीमा रिहा गरी परिवारको जिम्मा लगाइएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्। लेखकलाई सशस्त्र प्रहरी बलको नम्बर–२ गणबाट पत्नी यशोदा लेखकको जिम्मामा छाडिएको हो।
यसअघि सर्वोच्च अदालतले चैत २३ गते सरकारका नाममा परमादेश जारी गर्दै तेस्रो पटक थपिएको म्याद सकिएपछि उनीहरूलाई रिहा गर्न आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौंले दिएको थप ५ दिने म्याद चैत २६ गते सकिएसँगै दुवै जना हिरासतबाट मुक्त भएका हुन्।
दुवै नेताको पक्राउ र हिरासत प्रकरणले पछिल्लो समय राजनीतिक वृत्तमा व्यापक चर्चा पाएको थियो। -

कलैया जेलको जग्गामा सिडियोको कडा एक्सन !
२६ चैत्र, कलैया । बारा जिल्लामा सरकारी स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक सूचना जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका वडा नं. ४ (साविक कलैया गाविस वडा नं. ५) स्थित कारागार शाखा कार्यालय, कलैया बाराको नाममा दर्ता रहेको सरकारी जग्गा कि.नं. १०३, १०२ र ४४४ मा लामो समयदेखि विभिन्न व्यक्तिहरूद्वारा गैरकानूनी रूपमा स्थायी तथा अस्थायी संरचना निर्माण गरी प्रयोग भइरहेको पाइएको छ।
कार्यालयले गरेको अनुसन्धान, स्थलगत निरीक्षण तथा नापजाँचका क्रममा उक्त जग्गा प्रयोग गर्न कुनै सरकारी निकायसँग सम्झौता नगरी आफूखुशी बसोबास तथा संरचना निर्माण गरिएको पुष्टि भएको जनाइएको छ। यस्तो कार्य प्रचलित कानूनविपरीत भएको प्रशासनले स्पष्ट पारेको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ उपदफा ६ (क) बमोजिम जारी सूचनामा उल्लेख गरिएअनुसार सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र सबै प्रकारका संरचना हटाउन सम्बन्धित व्यक्तिहरूलाई निर्देशन दिइएको छ।
तोकिएको समयभित्र अतिक्रमित संरचना नहटाइएमा कानूनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा २०८२ चैत २६ गते जारी उक्त सूचनामा सरकारी सम्पत्तिको संरक्षण र व्यवस्थापनमा सहयोग गर्न सरोकारवालाहरूलाई आग्रह गरिएको छ।

-

पु्र्व प्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी, रेड नोटिस प्रक्रिया सुरु
२५ चैत्र , काठमाडौं — पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनीहरूलाई फरार सूचीमा राख्दै अन्तर्राष्ट्रिय स्तरमा खोजीका लागि रेड नोटिस जारी गर्ने प्रक्रिया अघि बढाइएको छ ।
जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानको आधारमा पक्राउ अनुमति दिएको हो । अदालत स्रोतका अनुसार न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले मंगलबार पक्राउ पुर्जी जारी गर्न स्वीकृति दिएको हो ।
सरकारी स्रोतका अनुसार विदेशमा रहेका देउवा दम्पतीलाई कानुनी दायरामा ल्याउन Interpol मार्फत रेड नोटिस जारी गर्ने तयारी गरिएको हो । रेड नोटिस जारी गर्नुअघि अदालतबाट पक्राउ पुर्जी जारी हुनु आवश्यक पर्ने भएकाले उक्त प्रक्रिया पूरा गरिएको जनाइएको छ ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा तानिएका देउवा दम्पती हाल विदेशमै छन् । उनीहरू फागुन पहिलो साता सिंगापुर गएका थिए । त्यसअघि आरजु राणा भारत हुँदै सिंगापुर पुगेकी थिइन् भने बीचमा दुवैजना उपचारका लागि हङकङसमेत पुगेका थिए ।
सरकारले यसै प्रकरणमा अन्य उच्च राजनीतिक व्यक्तित्वहरू, जस्तै केपी शर्मा ओली र पुष्पकमल दाहाल माथि पनि विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ ।नेपाल Interpol को सदस्य राष्ट्र भएकाले फरार अभियुक्त विदेशमा रहेको अवस्थामा अन्तर्राष्ट्रिय सहयोगमार्फत खोजी गर्न सकिन्छ । सम्बन्धित निकायले रेड नोटिसका लागि अनुरोध गरेपछि इन्टरपोलले विश्वभरका सदस्य राष्ट्रलाई सूचित गर्दै खोजी प्रक्रिया अघि बढाउँछ । पक्राउ परेमा सम्बन्धित देशसँग समन्वय गरी अभियुक्तलाई नेपाल फिर्ता ल्याउने व्यवस्था रहन्छ ।
देउवा दम्पतीको हकमा पनि यही कानुनी प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।
-

सरकारी विज्ञापन नीतिविरुद्ध महासंघ र संचारमन्त्री बिच छलफल
२३ चैत, बारा — नेपाल पत्रकार महासंघ ले सरकारी विज्ञापन केवल सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशन–प्रसारण गर्ने निर्णयप्रति कडा आपत्ति जनाउँदै तत्काल खारेज नगरे देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।
महासंघकी अध्यक्ष निर्मला शर्मा नेतृत्वको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री विक्रम तिमिल्सिना लाई भेटी ज्ञापनपत्र बुझाउँदै उक्त निर्णयले निजी सञ्चारमाध्यमलाई आर्थिक रूपमा धराशायी बनाउने र स्वतन्त्र पत्रकारितामाथि अप्रत्यक्ष दबाब सिर्जना गर्ने जनाएको छ।
महासचिव रामप्रसाद दाहाल द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा करिब ४ सयभन्दा बढी रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइन मिडियाको अस्तित्व नै संकटमा पर्ने उल्लेख गरिएको छ। साथै, श्रमजीवी पत्रकारहरूको रोजगारीमा समेत गम्भीर असर पर्ने महासंघको चेतावनी छ।महासंघले सरकारी विज्ञापन वितरणलाई पारदर्शी, समानुपातिक र न्यायोचित बनाउन माग गर्दै यस्तो निर्णयले खुला बजार अर्थतन्त्र र लोकतान्त्रिक मूल्य–मान्यताविपरीत असर पार्ने बताएको छ। साथै, यस्ता नीतिगत निर्णयअघि सरोकारवालासँग अनिवार्य परामर्श गर्नुपर्ने माग पनि राखिएको छ।
जवाफमा मन्त्री तिमिल्सिनाले सञ्चार क्षेत्रलाई निराश हुन नदिने र महासंघका मागप्रति सकारात्मक रहेको आश्वासन दिएका छन्। तर महासंघले माग सम्बोधन नभए आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी दोहोर्याएको छ।
-

सानुभाइ’नामले नामुद युवराज गुरुङ पक्राउ
२२ चैत, काठमाडौं — ‘सानुभाइ’ भनेर चिनिने युवराज गुरुङलाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ। गुण्डागर्दी र असुलीका गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई सामाखुसीबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले बताएका छन्।
गुरुङ विगतदेखि नै आपराधिक गतिविधिमा संलग्न रहँदै आएको आरोप खेप्दै आएका व्यक्ति हुन्। २०८० असारमा ठमेलस्थित एक क्लब सञ्चालकमाथि कुटपिट गरेको घटनामा पक्राउ परेका बेला प्रहरीले उनलाई हत्कडीसहित सार्वजनिक रूपमा बजार क्षेत्रमा घुमाएको थियो। त्यस घटनापछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो।
तर रिहापछि पनि उनीमाथि कुटपिट र असुलीका गतिविधि दोहोर्याएको आरोप लाग्दै आएको छ। प्रहरी स्रोतका अनुसार, उनको गतिविधिलाई निगरानीमा राखिएको थियो र पछिल्लो पक्राउ पनि सोही सिलसिलाको निरन्तरता हो।
प्रहरी रेकर्डले देखाएअनुसार, गुरुङको आपराधिक पृष्ठभूमि लामो छ। उनी कुनै समय कुख्यात गुण्डा नाइके कुमार घैंटेको समूहसँग आबद्ध रहेको बताइन्छ। २०७२ सालमा घैंटे प्रहरी मुठभेडमा मारिएपछि गुरुङले ‘बुलेट प्रुफ ज्याकेट’ प्रयोग गर्न थालेको र विभिन्न गतिविधिमा संलग्न रहँदै आएको उल्लेख छ।
सोही वर्ष २५ पुसमा नुवाकोटबाट उनलाई अवैध हतियारसहित पक्राउ गरिएको थियो, जहाँबाट रिभल्बर र गोली बरामद भएको थियो। त्यतिबेला प्रयोग गरेको बुलेट प्रुफ ज्याकेटसमेत प्रहरीले नियन्त्रणमा लिएको थियो।
यसअघि २०६७ सालमा गोंगबु क्षेत्रमा भएको एक धारिलो हतियार प्रहार घटनामा पनि उनको संलग्नता रहेको आरोप छ। त्यसयता उनी विभिन्न आपराधिक घटनामा मुछिँदै आएको प्रहरीको भनाइ छ।
२०७६ मा बैंकिङ कसूर सम्बन्धी मुद्दा र २०७७ मा पेस्तोल देखाएर कुटपिट गरेको घटनामा समेत उनी पक्राउ परिसकेका छन्। त्यस्तै, २०८२ साउनमा ठमेलको एक दोहोरी साँझमा झगडा गरेको आरोपमा पनि उनी नियन्त्रणमा लिइएका थिए।
बारम्बार आपराधिक गतिविधिमा नाम जोडिँदै आएपछि गुरुङमाथि प्रहरीले निगरानी कडा बनाएको जनाएको छ। पछिल्लो पक्राउसँगै उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





