ओली र लेखक १३ दिनपछि हिरासतमुक्त
२६ चैत्र, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक १३ दिनको हिरासतपछि रिहा भएका छन्।
ओलीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनकी पत्नी राधिका शाक्यसहित आफन्तको जिम्मा लगाएर मुक्त गरेको हो। स्वास्थ्य परीक्षणका क्रममा अस्पतालमै रहेका उनलाई त्यहीँबाट रिहाइ प्रक्रिया पूरा गरिएको जनाइएको छ।
यस्तै, नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पनि हिरासतबाट रिहा भएका छन्। उनलाई हाजिर जमानीमा रिहा गरी परिवारको जिम्मा लगाइएको काठमाडौं प्रहरीका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिएका छन्। लेखकलाई सशस्त्र प्रहरी बलको नम्बर–२ गणबाट पत्नी यशोदा लेखकको जिम्मामा छाडिएको हो।
यसअघि सर्वोच्च अदालतले चैत २३ गते सरकारका नाममा परमादेश जारी गर्दै तेस्रो पटक थपिएको म्याद सकिएपछि उनीहरूलाई रिहा गर्न आदेश दिएको थियो। जिल्ला अदालत काठमाडौंले दिएको थप ५ दिने म्याद चैत २६ गते सकिएसँगै दुवै जना हिरासतबाट मुक्त भएका हुन्।
दुवै नेताको पक्राउ र हिरासत प्रकरणले पछिल्लो समय राजनीतिक वृत्तमा व्यापक चर्चा पाएको थियो।