कलैया जेलको जग्गामा सिडियोको कडा एक्सन !

दाश पन्न्नालाल दाश पन्न्नालाल 138 Views

२६ चैत्र, कलैया । बारा जिल्लामा सरकारी स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन जिल्ला प्रशासन कार्यालय बाराले सार्वजनिक सूचना जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाराका अनुसार कलैया उपमहानगरपालिका वडा नं. ४ (साविक कलैया गाविस वडा नं. ५) स्थित कारागार शाखा कार्यालय, कलैया बाराको नाममा दर्ता रहेको सरकारी जग्गा कि.नं. १०३, १०२ र ४४४ मा लामो समयदेखि विभिन्न व्यक्तिहरूद्वारा गैरकानूनी रूपमा स्थायी तथा अस्थायी संरचना निर्माण गरी प्रयोग भइरहेको पाइएको छ।

कार्यालयले गरेको अनुसन्धान, स्थलगत निरीक्षण तथा नापजाँचका क्रममा उक्त जग्गा प्रयोग गर्न कुनै सरकारी निकायसँग सम्झौता नगरी आफूखुशी बसोबास तथा संरचना निर्माण गरिएको पुष्टि भएको जनाइएको छ। यस्तो कार्य प्रचलित कानूनविपरीत भएको प्रशासनले स्पष्ट पारेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ९ उपदफा ६ (क) बमोजिम जारी सूचनामा उल्लेख गरिएअनुसार सूचना प्रकाशित भएको मितिले एक महिनाभित्र सबै प्रकारका संरचना हटाउन सम्बन्धित व्यक्तिहरूलाई निर्देशन दिइएको छ।

तोकिएको समयभित्र अतिक्रमित संरचना नहटाइएमा कानूनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रद्वारा २०८२ चैत २६ गते जारी उक्त सूचनामा सरकारी सम्पत्तिको संरक्षण र व्यवस्थापनमा सहयोग गर्न सरोकारवालाहरूलाई आग्रह गरिएको छ।

प्रतिक्रिया
Share This Article