बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको निधन

Oct 8, 2026 - 23:28
 0  7
बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको निधन

काठमाडौं, असोज २२ । हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतका विभिन्न सञ्चारमाध्यमका अनुसार बिहीबार बिहान गोवास्थित निवासमा अचेत अवस्थामा फेला परेका पाटेकरलाई अस्पताल पुर्‍याइए पनि बचाउन सकिएन।

चिकित्सकहरूले करिब ४५ मिनेटसम्म पुनर्जीवन (सीपीआर) प्रयास गरे पनि उनलाई बचाउन नसकिएको जनाइएको छ। अस्पताल स्रोतका अनुसार उनको मृत्यु हृदयाघातसँग सम्बन्धित रहेको प्रारम्भिक जानकारी आएको छ भने थप विवरण पोस्टमार्टम प्रतिवेदनपछि स्पष्ट हुने बताइएको छ। सन् १९५१ जनवरी १ मा महाराष्ट्रमा जन्मिएका विश्वनाथ पाटेकर, अर्थात् नाना पाटेकर, भारतीय चलचित्र उद्योगका विशिष्ट कलाकारमध्ये एक मानिन्थे।

 उनले सन् १९७८ को ‘गमन’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि ‘परिन्दा’, ‘क्रान्तिवीर’, ‘अंगार’, ‘अग्निसाक्षी’, ‘अब तक छप्पन’, ‘राजनीति’ र ‘वेलकम’लगायत चलचित्रमा सम्झनलायक भूमिका निर्वाह गरे। तीव्र संवादशैली, गम्भीर अभिनय र फरक चरित्र प्रस्तुत गर्ने क्षमताका कारण पाटेकरले हिन्दी र मराठी दुवै चलचित्र क्षेत्रमा अलग पहिचान बनाएका थिए। उनले तीनवटा राष्ट्रिय चलचित्र पुरस्कारसहित विभिन्न सम्मान प्राप्त गरेका थिए।

पाटेकरको निधनप्रति भारतीय राजनीतिक तथा चलचित्र क्षेत्रका व्यक्तित्वहरूले श्रद्धाञ्जली व्यक्त गरेका छन्। उनको निधनसँगै भारतीय चलचित्र उद्योगले पाँच दशकभन्दा लामो अभिनय यात्राका एक प्रभावशाली कलाकार गुमाएको टिप्पणी गरिएको छ। वलिउडमा शोक छाएको छ।  उनको निधन प्रति विभिन्न व्यक्तित्व र राजनेताले दु:ख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गरेका छन्। 

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0