एआईजी र पूर्वप्रधानन्यायाधीशसँग जोडिएका इनममाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान

Oct 8, 2026 - 23:07
 0  15

 काठमाडौं, असोज २२ । निलम्बित सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल र पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्पर्क रहेको बताइएका इनम सापकोटामाथि प्रहरीले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।

काठमाडौं प्रहरीको हिरासतमा रहेका सापकोटाविरुद्ध बुधबारदेखि अनुसन्धान सुरु गरिएको हो। जिल्ला अदालत काठमाडौंले सुरुमा एक दिनको म्याद दिएको थियो। बिहीबार थप म्यादका लागि उनलाई अदालतमा उपस्थित गराइएको प्रहरी स्रोतले जनाएको छ।

अमेरिकाको पीआर रहेका सापकोटालाई दिल्ली जान लागेका बेला विशेष ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। प्रारम्भिक अनुसन्धानपछि उनलाई काठमाडौं प्रहरीको जिम्मा लगाइएको थियो।

सापकोटा पक्राउपछि उनको मोबाइल तथा सम्पर्क विवरणमाथि अनुसन्धान गर्दा एआईजी दाहालसँग सम्पर्क रहेको विवरण भेटिएको प्रहरी स्रोतको दाबी छ।

 दाहालमाथि प्रहरी नियन्त्रणमा रहेका व्यक्तिलाई जानकारीबिना भेटेको तथा संवेदनशील सूचना चुहाएको आरोपमा छानबिन भइरहेको छ। सापकोटाको मोबाइलमा आर्थिक कारोबार र विभिन्न व्यक्तिसँगको सम्पर्कसम्बन्धी विवरण भेटिएको दाबी गरिएको छ। प्रधानमन्त्री बालेन शाहका गतिविधिसम्बन्धी सूचना आदानप्रदान र रकम उल्लेख भएका कुराकानीसमेत भेटिएको स्रोतको दाबी छ।

 यी विवरण भने प्रहरीले औपचारिक रूपमा पुष्टि गरेको छैन। सापकोटाको सम्पर्क पूर्वप्रधानन्यायाधीश जबरासँग पनि रहेको बताइएको छ। अदालतका मुद्दामा प्रभाव पार्ने प्रयाससम्बन्धी सूचनापछि प्रहरीले जबरालाई नियन्त्रणमा लिएर करिब १२ घण्टा सोधपुछ गरेको थियो।

यसैबीच सम्पत्ति शुद्धीकरण विभागले जबरासहित उनका नातेदार तथा निकटस्थ व्यक्तिका घरमा छापा मारेर कागजात नियन्त्रणमा लिएको जनाइएको छ। अब सापकोटाको सम्पत्तिको स्रोत, आर्थिक कारोबार र विभिन्न व्यक्तिसँगको वित्तीय सम्बन्धमाथि अनुसन्धान केन्द्रित भएको छ। एआईजी दाहाल र पूर्वप्रधानन्यायाधीश जबरासँगको भनिएको सम्पर्कको वास्तविक प्रकृति तथा आर्थिक लेनदेन भए–नभएको अनुसन्धानबाट खुल्नेछ।

What's Your Reaction?

Like Like 0
Dislike Dislike 0
Love Love 0
Funny Funny 0
Angry Angry 0
Sad Sad 0
Wow Wow 0