दुई दशकको संघर्षपछि भूमिका श्रेष्ठ संसद्‌मा: अल्पसंख्यक अधिकारको आवाज अब नीति निर्माणमा

दाश पन्न्नालाल दाश पन्न्नालाल 177 Views

७ चैत्र, काठमाडौं — लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकारका लागि लामो समयदेखि संघर्ष गर्दै आएकी भूमिका श्रेष्ठ अब संघीय संसद्‌मा पुगेकी छन्। सडक आन्दोलनबाट सुरु भएको उनको यात्रा अब नीति निर्माण तहसम्म पुगेको छ।
रास्वपाबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित श्रेष्ठले समाजमा विभेद, अपहेलना र असमानताविरुद्ध निरन्तर आवाज उठाउँदै आएकी थिइन्। उनले लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायलाई समान नागरिकका रूपमा स्वीकार गर्नुपर्ने माग गर्दै लामो समयदेखि अभियान चलाएकी हुन्।
सांसद बनेपछि उनले अब अधिकारको मुद्दा सदनबाट उठाउने बताएकी छन्। “संविधानमा व्यवस्था भएका अधिकार व्यवहारमा लागू हुन सकेका छैनन्, त्यसलाई कार्यान्वयनमा लैजानु मेरो प्राथमिकता हुनेछ,” उनले भनिन्। नागरिकता, शिक्षा, स्वास्थ्य र वैवाहिक समानताजस्ता विषयमा स्पष्ट कानुनी व्यवस्था आवश्यक रहेको उनको धारणा छ।
श्रेष्ठले आफ्नो भूमिका केवल एक समुदायमा सीमित नरहने बताउँदै मधेशी, मुस्लिम, आदिवासी जनजाति तथा अन्य सीमान्तकृत वर्गका मुद्दा पनि उठाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
नेपालको संसदीय इतिहासमा उनको प्रवेशलाई समावेशी प्रतिनिधित्वको सशक्त संकेतका रूपमा हेरिएको छ। यसअघि सुनिलबाबु पन्त ले संविधानसभामा प्रतिनिधित्व गरेपछि सुरु भएको यो यात्रालाई भूमिका श्रेष्ठले नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
Share This Article