सीमा विवादमा कलैया र महागढीमाई नगर प्रहरीबीच झडप, ६ जना घाइते

दाश पन्न्नालाल दाश पन्न्नालाल 137 Views

बारा — बाराको कलैया उपमहानगरपालिका–२६ स्थित सिस्वा–महेशपुर क्षेत्रमा सीमा विवादका कारण कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकाका नगर प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन्।

घटना मंगलबार साँझ सिस्वा–महेशपुरस्थित छठिया पोखरी नजिक संघीय सरकारको खानेपानी आयोजनाको कम्पाउन्ड विस्तारको क्रममा सुरु भएको हो। सो स्थानलाई लिएर दुवै स्थानीय तहले आ–आफ्नो सीमा दाबी गर्दै आएपछि विवाद चर्किएको बताइएको छ।

स्थानीयका अनुसार निर्माणाधीन संरचनाको काम भइरहेका बेला महागढीमाई नगरपालिकाका नगर प्रहरीले संरचनामा प्रयोग भएका बिम र रड तोडफोड गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो। त्यसपछि “यो क्षेत्र आफ्नो सिमाभित्र पर्छ” भन्ने विषयमा दुवै पक्षबीच भनाभन हुँदै झडपमा परिणत भएको हो।

झडपमा कलैया उपमहानगरपालिकातर्फका लक्ष्मी यादव, राकेश यादव, विवेक सिंह, विजय यादव र नेहा दास घाइते भएका छन्। उनीहरूको बयोधा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

त्यसैगरी महागढीमाई नगरपालिकातर्फका नगर प्रहरी धर्मराज यादव पनि घाइते भएका छन्। उनलाई एलएस न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको नगर प्रहरी इन्चार्जले जानकारी दिएका छन्।

घटनापछि उक्त क्षेत्रमा थप तनाव नबढोस् भनेर सुरक्षा सतर्कता बढाइएको छ। विवादित सीमा क्षेत्र भएकाले समस्या समाधानका लागि सम्बन्धित स्थानीय तहबीच छलफल आवश्यक रहेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया
Share This Article