Author: दाश पन्न्नालाल

  • नेपाल पत्रकार महासंघ मधेश प्रदेशको प्रादेशिक भवन शिलान्यास

    नेपाल पत्रकार महासंघ मधेश प्रदेशको प्रादेशिक भवन शिलान्यास

    बारा,१६ जेठ । गणतन्त्र दिवसको अवसर पारेर नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिको प्रादेशिक भवन निर्माणका लागि शुक्रबार जनकपुरधाममा शिलान्यास गरिएको छ।

    जनकपुरधाम उपमहानगरपालिका–४ स्थित महासंघको भवन मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।

    शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतोले महासंघको प्रादेशिक कार्यालयलाई सुविधा सम्पन्न भवनका रूपमा विकास गर्ने प्रतिबद्धता जनाए। उनले भवन निर्माणका लागि महासंघ, अर्थ मन्त्रालय र गृह, सञ्चार तथा कानुन मन्त्रालयबीच समन्वय गरी आगामी बजेटमार्फत आवश्यक रकम व्यवस्थापन गरिने बताए।

    नेपाल पत्रकार महासंघ मधेश प्रदेश अध्यक्ष श्याम बन्जाराले अग्रज पत्रकारहरूले देखेको सपना साकार पार्ने दिशामा भवन निर्माण अभियान अघि बढाइएको बताए। उनले नेपालमै पहिलो पटक प्रदेश समितिको आफ्नै भवन निर्माणको ऐतिहासिक कार्य सुरु भएको उल्लेख गर्दै छिट्टै आधुनिक र सुविधा सम्पन्न भवन निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरे।

    उनका अनुसार महासंघको निर्वाचनका क्रममा गरिएको प्रतिबद्धता अनुसार नै भवन निर्माण प्रक्रिया अघि बढाइएको हो। प्रारम्भिक चरणमा दुई कोठे संरचनाबाट काम सुरु गरिएको र क्रमशः विस्तार गर्दै आधुनिक भवन निर्माण गरिने जानकारी दिइएको छ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, स्वतन्त्र सेनानी राम भरत, केन्द्रीय सदस्य राजेश कर्ण, आम सञ्चार प्राधिकरण मधेश प्रदेश अध्यक्ष जितेन्द्र सिंह खड्का, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना झा लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सहजीकरण महासंघका महासचिव शैलेन्द्र महतोले गरेका थिए।

  • बाराको कलैयादेखि देशभर बकर इदको उल्लास, मुस्लिम समुदायले सामूहिक नमाज अदा गर्दै दिए कुर्बानी

    बाराको कलैयादेखि देशभर बकर इदको उल्लास, मुस्लिम समुदायले सामूहिक नमाज अदा गर्दै दिए कुर्बानी

    कलैया, जेठ १४ — मुस्लिम समुदायको महान् पर्व बकर इद (इदुल अजहा) आज बाराको कलैया,सुवर्ण गाँउपालिकाको पशुरामपुर भिस्वा , मुसहर्ना रौतहटको खाप घिउरा  विरगञ्जको छपकैया सहित देशभर श्रद्धा, उल्लास र धार्मिक आस्थाका साथ मनाइएको छ।
    बिहानैदेखि मस्जिद तथा इदगाहहरूमा मुस्लिम धर्मावलम्बीहरूको बाक्लो उपस्थिति देखिएको थियो। उनीहरूले सामूहिक रूपमा विशेष नमाज अदा गर्दै एक–अर्कामा शुभकामना साटासाट गरेका छन्। नमाजपश्चात् धार्मिक विधिअनुसार जायज जनावरको कुर्बानी दिइएको छ।
    इस्लाम धर्ममा बकर इद त्याग, समर्पण र आस्थाको प्रतीकका रूपमा मनाइन्छ। धार्मिक मान्यताअनुसार हजरत इब्राहिमले अल्लाहको आदेशअनुसार आफ्ना पुत्र हजरत इस्माइललाई बलिदान दिन तत्पर हुँदा अल्लाहले त्यसको सट्टा दुम्बाको कुर्बानी स्वीकार गर्नुभएको सम्झनामा यो पर्व मनाउने गरिन्छ।

    कलैयासहित देशका विभिन्न जिल्लामा रहेका मस्जिदहरूमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। काठमाडौँको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत प्रमुख धार्मिक स्थलहरूमा विशेष नमाज सम्पन्न भएको छ।

    पर्वका अवसरमा परिवारजन तथा आफन्तबीच शुभकामना आदानप्रदान, मिठा परिकारको व्यवस्था तथा आपसी सद्भाव साटासाट गरिएको छ।

    बकर इदको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। मुस्लिम समुदायले “ईद मुबारक” भन्दै उल्लासपूर्वक पर्व मनाइरहेका छन्।

  • सीमा विवादमा कलैया र महागढीमाई नगर प्रहरीबीच झडप, ६ जना घाइते

    सीमा विवादमा कलैया र महागढीमाई नगर प्रहरीबीच झडप, ६ जना घाइते

    बारा — बाराको कलैया उपमहानगरपालिका–२६ स्थित सिस्वा–महेशपुर क्षेत्रमा सीमा विवादका कारण कलैया उपमहानगरपालिका र महागढीमाई नगरपालिकाका नगर प्रहरीबीच झडप हुँदा ६ जना घाइते भएका छन्।

    घटना मंगलबार साँझ सिस्वा–महेशपुरस्थित छठिया पोखरी नजिक संघीय सरकारको खानेपानी आयोजनाको कम्पाउन्ड विस्तारको क्रममा सुरु भएको हो। सो स्थानलाई लिएर दुवै स्थानीय तहले आ–आफ्नो सीमा दाबी गर्दै आएपछि विवाद चर्किएको बताइएको छ।

    स्थानीयका अनुसार निर्माणाधीन संरचनाको काम भइरहेका बेला महागढीमाई नगरपालिकाका नगर प्रहरीले संरचनामा प्रयोग भएका बिम र रड तोडफोड गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको थियो। त्यसपछि “यो क्षेत्र आफ्नो सिमाभित्र पर्छ” भन्ने विषयमा दुवै पक्षबीच भनाभन हुँदै झडपमा परिणत भएको हो।

    झडपमा कलैया उपमहानगरपालिकातर्फका लक्ष्मी यादव, राकेश यादव, विवेक सिंह, विजय यादव र नेहा दास घाइते भएका छन्। उनीहरूको बयोधा अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

    त्यसैगरी महागढीमाई नगरपालिकातर्फका नगर प्रहरी धर्मराज यादव पनि घाइते भएका छन्। उनलाई एलएस न्युरो अस्पतालमा उपचारका लागि भर्ना गरिएको नगर प्रहरी इन्चार्जले जानकारी दिएका छन्।

    घटनापछि उक्त क्षेत्रमा थप तनाव नबढोस् भनेर सुरक्षा सतर्कता बढाइएको छ। विवादित सीमा क्षेत्र भएकाले समस्या समाधानका लागि सम्बन्धित स्थानीय तहबीच छलफल आवश्यक रहेको स्थानीयले बताएका छन्।

  • लखन दास खेलकुद तथा समाज कल्याण मन्त्रीमा नियुक्त, आजै पदभार ग्रहण

    लखन दास खेलकुद तथा समाज कल्याण मन्त्रीमा नियुक्त, आजै पदभार ग्रहण

    जनकपुरधाम, जेठ १२ — मधेश प्रदेश सरकारका नवनियुक्त मन्त्री लखनदासले खेलकुद तथा समाज कल्याण मन्त्रालयको पदभार ग्रहण गरेका छन्। मन्त्रिपरिषद् विस्तारसँगै नियुक्त भएका उनले मंगलबार मन्त्रालय पुगेर औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।

    पदभार ग्रहणपछि मन्त्री दासले खेलकुद क्षेत्रको समग्र विकास, युवा सशक्तीकरण तथा समाज कल्याणका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।

    उनले प्रदेशका खेलाडी, युवा तथा पिछडिएका समुदायको हितलाई केन्द्रमा राखेर काम गर्ने बताए।

    उनले खेलकुद पूर्वाधार विस्तार, युवामैत्री कार्यक्रम सञ्चालन तथा सामाजिक विकाससँग सम्बन्धित योजनालाई प्राथमिकतामा राखिने उल्लेख गरे। साथै, मन्त्रालयलाई परिणाममुखी ढंगले अघि बढाउँदै प्रदेशमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्य रहेको बताए।

    पदभार ग्रहण कार्यक्रममा राजनीतिक प्रतिनिधि, मन्त्रालयका कर्मचारी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो। उपस्थितहरूले मन्त्री दासलाई सफल कार्यकालको शुभकामना दिएका थिए।

    मन्त्री दासको आगमनसँगै मधेश प्रदेशको खेलकुद तथा समाज कल्याण क्षेत्रमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ।

  • बारामा ८१ प्रतिशत आर्थिक गणना सम्पन्न “गणक आर्थिक एकाइमा पुगेपछि व्यवसायीहरू उत्साहित”

    बारामा ८१ प्रतिशत आर्थिक गणना सम्पन्न “गणक आर्थिक एकाइमा पुगेपछि व्यवसायीहरू उत्साहित”

    बारा, जेठ १२ — राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारामा हालसम्म करिब ८१ प्रतिशत स्थलगत तथ्याङ्क संकलन सम्पन्न भएको छ। जिल्ला आर्थिक गणना कार्यालय बाराका अनुसार गणक तथा सुपरिवेक्षकहरूको सक्रियताका कारण अपेक्षाभन्दा छिटो प्रगति हासिल भएको हो।

    यसै सन्दर्भमा जिल्ला आर्थिक गणना अधिकारी राजेश दाससँग गरिएको विस्तृत कुराकानी:

    प्रश्नः राष्ट्रिय आर्थिक गणना–२०८२ भनेको के हो?
    उत्तरः राष्ट्रिय आर्थिक गणना नेपाल सरकारद्वारा सञ्चालन गरिएको एक महत्वपूर्ण राष्ट्रिय अभियान हो। कुनै निश्चित स्थानमा वस्तु उत्पादन, बिक्री वा सेवा प्रदान गर्ने सबै प्रकारका आर्थिक क्रियाकलाप सञ्चालन गर्ने प्रतिष्ठानहरूको विवरण संकलन गर्ने कार्य नै आर्थिक गणना हो। नेपालमा सन् २०१८ (वि.सं. २०७५) मा पहिलोपटक आर्थिक गणना सम्पन्न गरिएको थियो।

    प्रश्नः आर्थिक गणनाको मुख्य उद्देश्य के हो?
    उत्तरः आर्थिक तथ्याङ्क उत्पादन गर्नु, नीति निर्माणका लागि आधार तयार गर्नु, विकास योजना निर्माण गर्नु, अर्थतन्त्रको वास्तविक आकार निर्धारण गर्नु, रोजगारीको अवस्था विश्लेषण गर्नु तथा लगानी प्रवर्द्धन गर्नु यसको मुख्य उद्देश्य हो।

    प्रश्नः संकलित विवरण गोप्य रहन्छ कि सार्वजनिक गरिन्छ?
    उत्तरः तथ्याङ्क ऐन, २०७९ अनुसार संकलित सबै विवरण पूर्ण रूपमा गोप्य रहन्छ। व्यक्तिगत व्यवसाय वा प्रतिष्ठानको विवरण सार्वजनिक गरिँदैन, केवल समष्टिगत तथ्याङ्कीय प्रयोजनका लागि मात्र प्रयोग गरिन्छ।

    प्रश्नः बारा जिल्लामा हालसम्मको प्रगति कस्तो छ?
    उत्तरः हालसम्म जिल्लामा करिब ८१ प्रतिशत स्थलगत तथ्याङ्क संकलन सम्पन्न भएको छ। सबै पालिकाहरूमा गणक तथा सुपरिवेक्षक टोली सक्रिय रूपमा कार्यरत छन्। विशेषगरी कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपालिका, निजगढ नगरपालिका र महागढीमाई नगरपालिका क्षेत्रमा राम्रो प्रगति भएको छ। बाँकी क्षेत्रमा पनि काम तीव्र रूपमा अघि बढिरहेको छ।

    प्रश्नः कुन–कुन क्षेत्रहरू आर्थिक गणनामा समेटिएका छन्?
    उत्तरः कृषि (दर्ता भएका मात्र), वन तथा माछापालन, खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत, ग्यास, पानी आपूर्ति, निर्माण, व्यापार, यातायात, आवास तथा भोजन सेवा, सूचना तथा सञ्चार, वित्तीय तथा बीमा, घरजग्गा कारोबार, पेशागत तथा प्राविधिक सेवा, शिक्षा, स्वास्थ्य, सामाजिक कार्य, मनोरञ्जन तथा अन्य सबै प्रकारका सेवा क्षेत्र समेटिएका छन्।

    प्रश्नः गणकहरूलाई कस्ता चुनौती देखिएका छन्?
    उत्तरः कतिपय व्यवसायीहरू कार्यालय वा पसलमा अनुपस्थित हुनु, केहीले विवरण दिन हिच्किचाउनु, फोन सम्पर्क नहुनु तथा व्यस्त बजार क्षेत्रमा समय व्यवस्थापन कठिन हुनु प्रमुख चुनौती हुन्। यद्यपि अधिकांश स्थानमा राम्रो सहयोग प्राप्त भइरहेको छ।

    प्रश्नः व्यवसायीहरूको प्रतिक्रिया कस्तो छ?
    उत्तरः धेरैजसो व्यवसायीहरूले आर्थिक गणनालाई सकारात्मक रूपमा लिएका छन्। उनीहरूको भनाइमा सही तथ्याङ्क संकलन भएमा सरकारले उद्योग तथा व्यापार क्षेत्रलाई लक्षित नीति बनाउन सहज हुनेछ।
    एक व्यवसायीको भनाइ:
    “पहिलो पटक यति व्यवस्थित ढंगले व्यवसायको विवरण संकलन भइरहेको अनुभव भयो। सरकारले सही तथ्याङ्कका आधारमा योजना बनाओस् भन्ने अपेक्षा छ।”
    एक उद्योगीको भनाइ:
    “औद्योगिक क्षेत्रको वास्तविक अवस्था सरकारसमक्ष पुग्नुपर्छ। यसले भविष्यमा लगानी र रोजगारी बढाउन मद्दत पुर्‍याउन सक्छ।”
    प्रश्नः सुपरिवेक्षकहरूको भूमिका के हो?
    उत्तरः सुपरिवेक्षकहरूले गणकहरूको कामको अनुगमन, तथ्याङ्कको गुणस्तर परीक्षण तथा दैनिक प्रगति मूल्यांकन गरिरहेका छन्। आवश्यक परे स्थलगत निरीक्षण र डाटा प्रमाणीकरणसमेत गरिँदै आएको छ।

    प्रश्नः डाटा अपलोडमा कुनै समस्या छ?
    उत्तरः केही स्थानमा इन्टरनेट तथा प्राविधिक समस्याका कारण डाटा अपलोडमा ढिलाइ भएको छ। तर समस्या समाधान गर्दै नियमित रूपमा डाटा अपलोड भइरहेको छ।
    प्रश्नः राष्ट्रिय तथ्याङ्क कार्यालयको भूमिका के हो?
    उत्तरः राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथलीले देशभरका जिल्ला आर्थिक गणना कार्यालयमार्फत समन्वय, प्राविधिक सहयोग, अनुगमन तथा निर्देशन प्रदान गर्दै गणनालाई व्यवस्थित रूपमा अघि बढाइरहेको छ।
    प्रश्नः बारा जिल्लाको आर्थिक महत्व किन विशेष छ?
    उत्तरः बारा जिल्ला नेपालको महत्वपूर्ण औद्योगिक तथा व्यापारिक केन्द्र हो। पथलैया औद्योगिक क्षेत्र, सिमरा करिडोर तथा सीमावर्ती व्यापारिक गतिविधिका कारण जिल्लाको आर्थिक गतिविधि अत्यन्त सक्रिय छ। यहाँ ठूला उद्योगदेखि साना व्यवसायसम्मको उल्लेखनीय उपस्थिति रहेको छ।

    प्रश्नः जिल्ला प्रशासन, उद्योग वाणिज्य संघ र स्थानीय तहहरूको सहयोग कस्तो छ?
    उत्तरः अत्यन्त सकारात्मक छ। जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघ तथा जिल्लाका सबै स्थानीय तहहरूले गणना कार्यमा सक्रिय सहयोग गरिरहेका छन्।

    प्रश्नः नागरिकले किन सहयोग गर्नुपर्छ?
    उत्तरः यो राष्ट्रिय अभियान भएकाले सही तथ्याङ्कका आधारमा मात्रै सरकारलाई प्रभावकारी नीति बनाउन सम्भव हुन्छ। त्यसैले गणकहरू पुग्दा सही विवरण उपलब्ध गराउनु सबै नागरिकको जिम्मेवारी हो।

    प्रश्नः बाँकी काम कहिले सम्पन्न हुन्छ?
    उत्तरः बाँकी १९ प्रतिशत काम पनि तोकिएको अवधि अर्थात २०८३ असार ७ गतेभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।