संवाहक
अनलाईन/ राष्ट्रिय दैनिक
६ पुस, कलैया— नेपाल पत्रकार महासंघ बारा शाखाका नव निर्वाचित कार्यसमितिको पदभार तथा शपथ ग्रहण कार्यक्रम आज महासंघको आफ्नै भवनमा सम्पन्न भएको छ ।
कलैया स्थित नेपाल पत्रकार महासंघको सभाहलमा सम्पन्न सो कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत निवेश तिमल्सिनाले नवनिर्वाचित अध्यक्ष रमेश सुवेदीलाई पद तथा गोपनीयताको सपथ गराएका थिए । त्यसपछि अध्यक्ष सुवेदीले कार्यसमितिका उपाध्यक्ष पन्नालाल दास, प्रियंका दास, सचिव पुष्पराज खतिवडा,सहसचिव दुश्यन्त चौधरी, ईन्दिप कोईराला, कोषाध्यक्ष रन्जन यादव लगायत पदाधिकारी तथा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन्।
निर्वाचन समितिले मंसिर २८ गते भएको मतदानबाट निर्वाचित कार्यसमितिलाई शनिवार नै प्रमाणपत्र वितरण गरेको छन् ।
नेपाल पत्रकार महासंघ बारा शाखाका निवर्तमान अध्यक्ष रेशम तिवारीले नवनिर्वाचित अध्यक्ष सुवेदीलाई महासंघको कार्यालयको आवश्यक सामग्री हस्तान्तरण गरे लगतै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक समेत सम्पन्न भएको हो।
त्यसअघि पदभार ग्रहण कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष कमलकुमार उपाध्याय, महासंघका केन्द्रिय सदस्य सिकेन्द्र पासवान, राजु विश्वकर्मा, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य गणेशराज रिजाल, मेची महाकाली मिडीया सोसाइटी बाराका अध्यक्ष भोजराज भट्टराई, प्रेस सेण्टरका रमेश साह जनमत प्रेस संघका जिल्ला अध्यक्ष अम्रेश पाण्डे र प्रेस मञ्च बारा अध्यक्ष निखिल पासवान गायतकाले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।