Author: दाश पन्न्नालाल

  • मोटरसाईकल दुर्घटनामा मंसुरको मृत्यु अर्का घाइते

    मोटरसाईकल दुर्घटनामा मंसुरको मृत्यु अर्का घाइते

    कलैया साउन ११ — बाराको कलैया उपमहानगरपालिका–१७ ब्रह्मपुरीस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक किशोरको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

    आइतबार बिहान करिब ८ः२५ बजे भवानीपुरबाट ब्रह्मपुरीतर्फ जाँदै गरेको ना ४५ प २१७७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रहेको विद्युत् पोलमा ठोक्किएको प्रहरीले जनाएको छ।

    दुर्घटनामा मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–३ निवासी अजित मन्सुरका १५ वर्षीय छोरा सोयब मन्सुर गम्भीर घाइते भएका थिए। मोटरसाइकलको पछाडि सवार सोही क्षेत्रका साबिर हुसेन अन्सारीका १५ वर्षीय छोरा साहिद अन्सारी को हातमा सामान्य चोट लागेको छ।

    दुवै घाइतेलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएको थियो। उपचारकै क्रममा बिहान करिब ९ बजे चिकित्सकले ईसीजी परीक्षणपछि सोयब मन्सुरलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

    घटनाको जानकारी प्राप्त भएपछि अस्थायी प्रहरी पोस्ट गंगापुरबाट प्रहरी सहायक निरीक्षक महमद हुसेन देवानको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

    मृतकको शव प्रादेशिक अस्पताल कलैयामै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

  • मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

    मोटरसाइकलको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते

    बारा, साउन १० — बाराको करैयामाई गाउँपालिका–८ नरही चौकदेखि इटहर जाने सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।

    प्रहरीका अनुसार साउन ९ गते राति करिब ११ बजे नम्बर नखुलेको मोटरसाइकलले पैदलयात्री दुई जनालाई ठक्कर दिएको थियो।

    ठक्करबाट करैयामाई गाउँपालिका–८ निवासी करिब २५ वर्षीय उमेश साह सोनार र अर्का पवन साह सोनार गम्भीर घाइते भएका थिए।

    घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी गंजभवानीपुरबाट प्रहरी नायब निरीक्षक बहादुर प्रसाद यादवको नेतृत्वमा टोली खटिई दुवै घाइतेको उद्धार गरी थप उपचारका लागि वीरगञ्जस्थित न्युरो अस्पताल पठाइएको थियो।

    उपचारकै क्रममा उमेश साह सोनारको साउन १० गते बिहान करिब १ः२० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव हाल सोही अस्पतालमा राखिएको छ।

    त्यसैगरी बारा विश्रामपुर गाउँपालिका–५ इटियाही निवासी करिब ४० वर्षीय पवन साह सोनारको टाउकोमा गम्भीर चोट लागेको छ। उनको न्युरो अस्पताल वीरगञ्जको सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    दुर्घटनामा संलग्न मोटरसाइकल र चालक फरार रहेकाले खोजी तथा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरीका सुचना अधिकारी एवम् डिएसपी मीन बहादुर घलेले जनाएका छन्।

  • कलैया उपमहानगरले संस्थागत विद्यालयलाई छात्रवृत्ति विवरण पेश गर्न दिए निर्देशन

    कलैया उपमहानगरले संस्थागत विद्यालयलाई छात्रवृत्ति विवरण पेश गर्न दिए निर्देशन

    कलैया, साउन ९ – कलैया उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सबै संस्थागत विद्यालयलाई छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको विवरण अनिवार्य रूपमा पेश गर्न निर्देशन दिएको छ।

    उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको पत्रअनुसार शिक्षा नियमावली, २०५९ (दशौं संशोधनसहित) को नियम १५७ बमोजिम संस्थागत विद्यालयहरूले कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको छ।

    नियमअनुसार उपलब्ध गराइने छात्रवृत्तिमध्ये कम्तीमा २० प्रतिशत छात्रवृत्ति दलित, गरिब, महिला, जनजाति तथा द्वन्द्वपीडित विद्यार्थीलाई प्राथमिकताका साथ प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ।

    उपमहानगरपालिकाले शैक्षिक सत्र २०८३ मा नियमबमोजिम छात्रवृत्ति पाएका विद्यार्थीहरूको विवरण निर्धारित ढाँचामा संकलन गरी आगामी साउन १५ गतेभित्र शिक्षा, युवा तथा खेलकुद शाखामा बुझाउन सबै संस्थागत विद्यालयलाई अनुरोध गरेको छ।

    पत्रमा छात्रवृत्ति प्राप्त विद्यार्थीको नाम, अध्ययनरत कक्षा, अभिभावकको नाम, सम्पर्क नम्बर तथा छात्रवृत्तिको विवरण उल्लेख गरी पेश गर्न भनिएको छ।

    शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख राजिव कुमार यादव द्वारा हस्ताक्षरित उक्त पत्रमार्फत छात्रवृत्ति वितरण प्रक्रियालाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन विवरण संकलन गर्न लागिएको जनाइएको छ।

  • मदन भण्डारी फाउण्डेसन बाराको अधिवेशन असोज १० मा हुने

    मदन भण्डारी फाउण्डेसन बाराको अधिवेशन असोज १० मा हुने

    कलैया, साउन ९ — मदन भण्डारी फाउण्डेसन बारा जिल्ला कमिटीले आगामी असोज १० गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ। शनिबार कलैयामा सम्पन्न पूर्ण विस्तारित बैठकले अधिवेशनको मिति तय गर्दै आवश्यक तयारी तत्काल सुरु गर्ने निर्णय गरेको हो।

    जिल्ला अध्यक्ष रुष्तम अन्सारीको अध्यक्षतामा बसेको बैठकमा संगठन सुदृढीकरण, सदस्यता विस्तार, संगठनको वर्तमान अवस्था तथा आगामी कार्ययोजनाबारे छलफल भएको थियो। बैठकमा फाउण्डेसनका केन्द्रीय सदस्य अरबिन्द सिंह प्रमुख अतिथिका रूपमा सहभागी थिए।

    कार्यक्रममा केन्द्रीय सदस्य किशोर शर्मा, मधेश प्रदेश अध्यक्ष राज महम्मद राय, प्रदेश कोषाध्यक्ष अशोक तिवारी, प्रदेश सदस्य दीपक चौधरी, प्रभु प्रसाद साह, जिल्ला उपाध्यक्ष पनलाल कुशवाहा, उपसचिव शशिभूषण चौधरी, तेजनारायण चौधरी लगायत जिल्ला तथा प्रदेश तहका पदाधिकारी र सदस्यको उपस्थिति रहेको थियो।
    बैठकमा वक्ताहरूले जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद (जबज) लाई जनस्तरसम्म पुर्‍याउन संगठनलाई थप सक्रिय बनाउनुपर्ने धारणा राखेका थिए।

    युवाको सहभागिता बढाउने, वैचारिक प्रशिक्षण सञ्चालन गर्ने तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम विस्तार गर्नुपर्नेमा जोड दिइएको थियो।
    बैठकले अधिवेशन सफल बनाउन विभिन्न उपसमिति गठन गर्ने, जिल्लाभरका सदस्यलाई परिचालन गर्ने र संगठन विस्तार अभियानलाई तीव्र बनाउने निर्णयसमेत गरेको जनाएको छ।

    बैठकको समापनमा अध्यक्ष अन्सारीले अधिवेशनलाई भव्य र व्यवस्थित बनाउन सबै सदस्य तथा शुभेच्छुकलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे। उनले संगठनका उद्देश्य र सिद्धान्तलाई जनस्तरसम्म पुर्‍याएर सामाजिक रूपान्तरणमा फाउण्डेसनको भूमिका थप प्रभावकारी बनाउने बताए।

  • बर्दिबासमा होटल अनुगमन,उपभोक्ताको स्वास्थ्यमा सम्झौता नहुने: मन्त्री फकिरा महतो

    बर्दिबासमा होटल अनुगमन,उपभोक्ताको स्वास्थ्यमा सम्झौता नहुने: मन्त्री फकिरा महतो

    सर्लाही, साउन ९ — महोत्तरीको बर्दिबास क्षेत्रमा सञ्चालित होटल तथा खाद्य व्यवसायमा गरिएको संयुक्त अनुगमनका क्रममा खाद्य स्वच्छता र गुणस्तरमा गम्भीर लापरबाही भेटिएपछि पाँच व्यवसायलाई कुल रु. १ लाख ७० हजार जरिवाना गरिएको छ।

    गृह, सञ्चार तथा कानून मन्त्री फकिरा महतोको अगुवाइमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, आन्तरिक राजस्व कार्यालय तथा घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधिहरू सम्मिलित टोलीले शुक्रबार अनुगमन गरेको हो।


    अनुगमनका क्रममा होटल विनायकमा खाना खुला रूपमा राखिएको, सरसफाइको अभाव रहेको तथा करिब २५० बोतल म्याद गुज्रिएका पेय पदार्थ फेला परेपछि रु. २० हजार जरिवाना गरिएको छ। फेला परेका सबै म्याद गुज्रिएका पेय पदार्थ नष्ट गरिएको जनाइएको छ।

    त्यसैगरी होटल गुँजा गौरी डाँडामा म्याद गुज्रिएका खाद्य सामग्री, खुला रूपमा राखिएको खाना तथा लेबल नभएका घ्यूसहित विभिन्न सामग्री फेला परेपछि रु. २० हजार जरिवाना गरी बरामद सामग्री नष्ट गरिएको छ।

    गौतम होटलमा सरसफाइको अवस्था कमजोर रहेको, कुहिएका फलफूल तथा तरकारी र म्याद गुज्रिएको मसला भेटिएपछि रु. १ लाख जरिवाना गरिएको छ।

    साथै होटललाई सात दिनभित्र सुधार गर्न निर्देशन दिइएको छ। यस्तै होटल नव्यामा कुहिएका तरकारी, म्याद गुज्रिएको मैदा, पेय पदार्थ र अचार फेला परेपछि ती सामग्री नष्ट गरी रु. २० हजार जरिवाना गरिएको छ।

    एभरेष्ट डेरी एण्ड स्वीट हाउसमा खाद्य सामग्रीको गुणस्तर सन्तोषजनक भए पनि आवश्यक कागजात अपूरो रहेको पाइएकाले रु. १० हजार जरिवाना गर्दै सचेत गराइएको छ।

    अनुगमन टोलीले खाद्य व्यवसायीलाई स्वच्छता तथा खाद्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएको छ। आगामी दिनमा यस्ता कमजोरी दोहोरिए थप कडा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।