दास पन्नालाल
२६ असोज , कलैया— बारा जिल्लामा पछिल्लो समय देखा परेको हैजाले जोखिम बढ्दै गएपछि भोलि देखि हैजा रोग महामारी विरुद्ध प्रतिकार्य खोप अभियान शुरू हुने भएको छ।
नेपाल सरकारले हैजा प्रकोप रोक्ने उद्देश्यले स्वास्थ्य कार्यालय बाराको तत्वाधानमा आज हैजाको प्रकोप नियन्त्रण , औषधी सेवन र बच्ने उपाय बारे बाराली संचारकर्मीसँग कलैयामा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

यसअघि पर्सामा प्रारम्भ गरिएको यो अभियान बाराको ६ वटै पालिकामा खुुवाईने छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हैजा प्रभावित क्षेत्रमा एक वर्षमाथिका सबै व्यक्तिलाई खोप नाम दिईएको मुखमार्फत डेह्र मिलिको थोपा खुवाइने छ। यो खोप अभियान असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। बारामा करिब ३ लाख ६५ हजार ९ सय ३१ जनालाई लक्षित गरिएको छ।
जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार यो खोप अभियानले आगामी वर्षमा देखा पर्न सक्ने महामारीलाई रोक्न महत्वपूर्ण भूमिका खेल्नेछ। उनले भने, “हैजाविरुद्धको खोपले कम्तीमा ६ महिनासम्म रोगको संक्रमण हुन नदिने र दीर्घकालीन प्रतिरोधात्मक क्षमता विकास गर्ने गर्छ।”
यस अभियानमा विश्व स्वास्थ्य सङ्गठन (WHO), युनिसेफ, रेडक्रस लगायतका निकायहरूको सहकार्य र अन्तर्राष्ट्रिय समन्वय समूह (ICG) को समन्वय रहनेछ।
स्वास्थ्य अधिकारीहरूले बाराका स्थानीय तह र नागरिकलाई सचेत रहँदै खोप अभियानमा सक्रिय सहभागिता जनाउन आग्रह गरेका छन्।
जिल्लाका कलैया उपमहानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, प्रसौनी गाउँपालिका, परवानीपुर गाउँपालिका, फेटा गाउँपालिका र विश्रामपुर गाउँपालिका गरी ६ वटा स्थानीय तहमा खोो खुवाईने छ।
अभियान अन्तर्गत एक वर्षभन्दा माथिका सम्पूर्ण जनसङ्ख्यालाई शतप्रतिशत खोप खुवाइनेछ। खोपलाई सहज बनाउन सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वित्तीय संस्था, सुरक्षाकर्मी रहने स्थान, कलकारखाना, बसपार्क, सीमा नाका र आवश्यक स्थानहरूमा खोप केन्द्रहरू स्थापना गरिनेछ।
यस कार्यमा सहयोग गर्न तथा बिना अवरोध खोप खुवाउन अनुरोध गरिएको छ। स्थानीय स्तरमा माइकिङका साथै विभिन्न संस्था र धार्मिक स्थलहरूबाट समेत प्रचारप्रसार गरिनेछ। खोप अभियानको अवधिमा कुनै पनि शिक्षण संस्था बन्द नगर्न स्थानीय तह तथा शिक्षा विकास एकाइ मार्फत समन्वय गरिनेछ र अभियानको दैनिक प्रतिवेदन स्थानीय तहले स्वास्थ्य कार्यालयलाई बुझाउनु पर्नेछ।
उक्त अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी, उपाध्यक्ष पन्नालाल दास, पुर्व उपाध्यक्ष राकेश पाण्डेय, निवर्तमान उपाध्यक्ष रामबाबु मेहता, पत्रकार गोकुल घोरसाईने, सत्यप्रसाद श्रेष्ठ लगायतका जिल्लाका उल्लेख्य पत्रकारहरूको उपस्थिति रहेका थिए।
अन्तरक्रिया कार्यक्रमका सञ्चालन सरिता कुरारी यादव र सहजीकरण कञ्चन नेपालीले गरेकी थिईन्।