पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

दाश पन्न्नालाल दाश पन्न्नालाल 161 Views

पन्नालाल दास—

काठमाडौं, १४ चैत २०८२ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार राति भक्तपुरको गुण्डुस्थित निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृत्वको टोली ओली निवासमा प्रवेश गरी उनलाई पक्राउ गरेको स्रोतले जनाएको छ। प्रहरीका अनुसार, उनलाई पक्राउ गर्न टोली रातिदेखि नै परिचालन गरिएको थियो।
यसै घटनामा ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि आज बिहान भक्तपुरकै कुटुन्जेस्थित निवासबाट पक्राउ गरिएको छ।
भदौ २३ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा १९ जनाको ज्यान गएको घटनामा संलग्न रहेको आरोपमा अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गरिएको हो।
तीन दिनअघि सार्वजनिक भएको जाँचबुझ आयोगको प्रतिवेदनले पूर्वप्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक तथा पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसहितका व्यक्तिमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १८२ अन्तर्गत ‘हेलचेक्र्याईं गरी ज्यान मार्न नहुने’ कसुरमा कारबाही गर्न सिफारिस गरेको थियो। उक्त कसुरमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा बसेको मन्त्रिपरिषद बैठकले आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै गृहमन्त्री सुदन गुरुङले घटनाको अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए।
महान्यायाधिवक्ता कार्यालय स्रोतका अनुसार, पीडित परिवारले दर्ता गराएको जाहेरीका आधारमा पक्राउ प्रक्रिया अघि बढाइएको हो। प्रहरी स्रोतका अनुसार, ओलीलाई पक्राउ गर्दा अदालतबाट पूर्वअनुमति नलिई ‘जरुरी पूर्जी’का आधारमा नियन्त्रणमा लिइएको हो।
प्रहरीले अब उनलाई स्वास्थ्य परीक्षणपछि हिरासतमा राख्नेछ र २४ घण्टाभित्र जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने प्रक्रिया अघि बढाउने जनाएको छ।
नेपालको इतिहासमा मुलुकको कार्यकारी प्रमुख रहिसकेको व्यक्ति ज्यानसम्बन्धी फौजदारी मुद्दामा पक्राउ परेको यो पहिलो घटना भएको बताइएको छ।

प्रतिक्रिया
Share This Article