पन्नालाल दास–
३ माघ,काठमान्डौ / बारा-– नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले केही क्षेत्रबाहेक उम्मेदवारको अन्तिम सूची स्वीकृत गरेको हो।
एमाले अध्यक्ष स्वयम् झाापाको ५ मा केपी शर्मा ओली लडने तय भएको छ। यद्धपी उनले कुन क्षेत्रबाट चुनाव लडने आफै निर्णय लिने छन्। उपपमहासचिव लेखराज भट्टका अनुसार छलफल हुन बाँकी केही निर्वाचन क्षेत्रको उम्मेदवार टुंग्याउने जिम्मेवारी पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ।
धेरैजसो क्षेत्रमा सहमति जुटिसकेको छ, केही स्थानमा थप परामर्श आवश्यक भएकाले अध्यक्षलाई जिम्मेवारी दिइएको हो । एमालेले निर्वाचन तयारीलाई तीव्र बनाउँदै संगठन परिचालन र चुनावी रणनीति कार्यान्वयनतर्फ केन्द्रित हुने निर्णय पनि बैठकले गरेको छ।
बारा जिल्लामा एमालेका उम्मेदवार सचिवालय बैठकले बारा जिल्लाका चारै निर्वाचन क्षेत्रका लागि उम्मेदवार पनि सार्वजनिक गरेको छ। एमालेका अनुसार बारा जिल्लामा निम्न नेताहरू उम्मेदवार बनेका छन्—
बारा निर्वाचन क्षेत्र–१ : अच्युत मैनाली
बारा निर्वाचन क्षेत्र–२ : बलवीर चौधरी
बारा निर्वाचन क्षेत्र–३ : ज्वाला शाह
बारा निर्वाचन क्षेत्र–४ : किसान श्रेष्ठ
एमाले स्रोतका अनुसार बारा जिल्लामा संगठनात्मक सन्तुलन, स्थानीय प्रभाव, विगतको चुनावी प्रदर्शन र कार्यकर्ताको सुझावका आधारमा उम्मेदवार छनोट गरिएको हो।
एमालेले उम्मेदवार टुंग्याएसँगै अब चुनावी प्रचार, जनसम्पर्क र गठबन्धनबाहिरको प्रतिस्पर्धालाई प्राथमिकतामा राख्ने जनाएको छ। पार्टीले स्थिर सरकार, विकास र राष्ट्रिय स्वाभिमानको मुद्दालाई मुख्य चुनावी एजेन्डा बनाउने रणनीति तय गरेको बताइएको छ।
यससँगै उम्मेदवार चयनमा असन्तुष्ट पक्षलाई समेट्ने र पार्टीभित्र एकता कायम गर्दै निर्वाचनमा होमिने एमालेको तयारी रहेको नेताहरूले बताएका छन्।प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा एमालेसहित अन्य दलहरूले पनि उम्मेदवार टुंग्याउने क्रम तीव्र बनाएका छन्।