राष्ट्रपति कार्यालयमा बिहान साढे ११ बजे सपथ ग्रहण कार्यक्रम तय भएको राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयले जानकारी दिएको छ।
अहिलेसम्म मन्त्री बन्ने तीन जनाको टुंगो लागिसकेको छ।
अधिवक्ता ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालय सम्हाल्ने र रामेश्वर खनालले अर्थमन्त्री, अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लगाइसकेकी छन्।
अर्याल अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट दायर गरेपछि लोकप्रिय भएका हुन्।
उनले जनहितका विभिन्न मुद्दा उठाएर कानुनी लडाइँ लड्दै आएका छन्। उनी काठमाडौं महानगरपालिकाका कानुनी सल्लाहकार पनि हुन्।
सुशीला कार्कीको अन्तरिम सरकार प्रमुख नियुक्ति क्रममा राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ता गर्नमा पनि उनी संलग्न थिए। शपथ ग्रहण समारोहमा पनि उनी सहभागी भएका थिए।
त्यस्तै, अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने खनाल पूर्वअर्थसचिव हुन्।
उनले केही समयअघि मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव सिफारिस आयोगको अध्यक्षका रूपमा केपी ओली सरकारलाई ४४७ पृष्ठ लामो प्रतिवेदन बुझाएका थिए।
अर्थतन्त्रको कमजोरी कहाँ छ, समस्या किन आयो, तत्काल के गर्नुपर्छ र दीर्घकालीन उपाय के हुन् भन्ने विषयमा उनले ठोस सुझाव दिएका थिए।
ऊर्जा मन्त्रालय सम्हाल्ने घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हुन्।
आफ्नो व्यवस्थापकीय क्षमताका कारण नेपाललाई लोडसेडिङबाट मुक्त गराएको भनी आमजनतामा लोकप्रिय घिसिङलाई केही महिनाअघि केपी ओली सरकारले नै प्राधिकरणबाट हटाएको थियो।
उनको ठाउँमा हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरिएको थियो।
तर, जेन- जी विद्रोहका सुदन गुरुङले आफुसँग छलफल विना मन्त्रीको नियुक्ती गरेकोमा विरोध जनाएको छ।