नेपाललाई ९ समझदारीमा, ९ अर्ब सहायता उपलब्ध गराउने चिनियाँ राष्ट्रपतिको घोषणा

दाश पन्न्नालाल
3 Min Read

संवाहक 
अनलाई / राषट्रिय दैनिक

 १८ मसिर, काठमन्डौ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा मंगलबार दुई मुलुकबीच नौवटा सहमति तथा समझदारी भएको छ । यसबाहेक ९ अर्ब रुपैयाँ बजेटरी सहायता उपलब्ध गराउने घोषणा पनि चीनले गरेको छ ।

‘हस्ताक्षर भएका आयोजना बीआरआईअन्तर्गत अघि बढाइनेछ,’ भ्रमणमा संलग्न प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाले भने, ‘राष्ट्रपतिबाट घोषणा भएको सहयोग छुट्टै हो ।’

उक्त रकम नेपालले बजेटरी सहायताका रूपमा लिने जनाइएको छ । नेपाल र चीनबीचको पहिलो सहमति टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र पनि आदानप्रदान भएको छ ।

९ तले वसन्तपुर दरबार निर्माण सम्पन्नको प्रमाणपत्र आदानप्रदान, भैंसीको तयारी मासु निर्यातसम्बन्धी प्रोटोकलमा हस्ताक्षर, विकास योजनासम्बन्धी समझदारी, आर्थिक तथा प्राविधिक सहयोग, नगद सहयोग, स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी र नेपाल टेलिभिजन तथा चाइना मिडिया ग्रुप (सीएमजी) बीच सञ्चार प्रविधिबारे समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा रहेका एक अधिकारीले चीनसँग आयोजनागत रूपमा मात्रै सहमति र समझदारीपत्रमा हस्ताक्षर भएको बताए । ‘यी आयोजनाको कार्यान्वयन बीआरआईअन्तर्गत नै हुने भनिएको छ,’ ती अधिकारीले भने । समझदारीपत्रमा भने ती आयोजना बीआरआईअन्तर्गत हुने भन्नेबारे केही उल्लेख छैन । यसबारेमा नेपाली अधिकारीहरूको भनाई स्पष्ट छैन्।

चिनका राष्ट्रपति सी जिनपिङले नेपाललाई ५० करोड चिनियाँ युआन (करिब ९ अर्ब रुपैयाँ) अनुदान उपलब्ध गराउने घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटमा राष्ट्रपति सीले यस्तो घोषणा गरेको परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए ।

भेटका अवसरमा राष्ट्रपति सी ले नेपाली वस्तु चीनमा निर्यात गर्न प्रोत्साहन गर्ने आश्वासनसमेत पाएको भनिएको छ। ‘नेपाल र चीनबीचको सम्बन्ध सद्भाव, सम्मान र सहयोगमा आधारित छ । नेपालको विकास र समृद्धिमा चीनको सधैं साथ रहन्छ,’ राष्ट्रपति सीलाई उद्धृत गर्दै परराष्ट्रका प्रवक्ता ढकालले बताए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले पठाएको नेपाल भ्रमणको निम्तो दिएका थिए । राष्ट्रपति सीले उपयुक्त समयमा नेपालको भ्रमण गर्ने बताएको प्रवक्ता ढकालले बताए ।

प्रधानमन्त्री ओलीले छोटो समयमा चीनले विकास र गरिबी निवारणमा हासिल गरेको प्रगति अनुकरणीय रहेको बताएका थिए । नेपालको विकासमा चीनको साझेदारीको अपेक्षा गरेको पनि प्रधानमन्त्रीले बताए । यो भ्रमणले नेपाल-चीन सम्बन्ध अझ प्रगाढ बन्ने सँगै फलदायी भएको बताईएको छ।

 

Share This Article
Leave a comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *