२० कार्तिक, काठमाडौँ । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । ४७ औं राष्ट्रपति बन्नका लागि उपराष्ट्रपति कमला ह्यारिस र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रतिस्पर्धामा छन् । डेमोक्रेटिक उम्मेदवार ह्यारिस र रिपब्लिकन उम्मेदवार ट्रम्पबीचको चुनावी प्रतिस्पर्धा ‘इतिहासकै कडा’ देखिएको छ । ह्यारिस अमेरिकाको पहिलो महिला राष्ट्रपतिको बन्न लागि चुुनावी दौड छिन्।
एनबीसी न्युजको सर्वेक्षणमा दुवै उम्मेदवारको अवस्था बराबर छ । ट्रम्प र ह्यारिस दुवैलाई समान ४९ प्रतिशतले मत दिने बताएका छन् भने दुई प्रतिशतले निर्णय लिइनसकेको जनाएका छन् ।
विभिन्न चुनावी सर्वेक्षणले ट्रम्पभन्दा ह्यारिस अगाडि देखाएका छन् । एबीसी न्युजको सर्वेक्षणअनुसार ट्रम्पलाई ४७ प्रतिशत मतदाताको साथ छ भने पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत मतदाताको समर्थन जुटाएकी छन् । तर यो सर्वेक्षण निर्वाचित हुनका लागि यकिन छैन । सर्वेक्षणअनुसार ५ प्रतिशत मतदाता अन्तिम समयसम्म पनि कसलाई मत दिने भन्ने निर्णयमा पुगिसकेका छैनन् । जसका कारण दुईमध्ये जुनसुकै उम्मेदवारले जित हासिल गर्न सक्ने देखिएको छ ।
अमेरिकी राष्ट्रपतिमा विजयी हुन देशभरको समग्र मत बढी ल्याएर मात्र पुग्दैन । अमेरिकी राष्ट्रपतिको चुनाव ‘इलेक्टोरल कलेज’ प्रणालीमा आधारित भएकाले कम मत प्राप्त गर्ने उम्मेदवार पनि राष्ट्रपति बन्न सक्ने सम्भावना हुन्छ । सन् २०१६ मा देशभरिबाट पाएको मत हिलारी क्लिन्टनको भन्दा करिब ३० लाख कम भएको अवस्थामा पनि डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएका थिए । सन् २००० मा राष्ट्रपतिमा निर्वाचित रिपब्लिकन दलका जर्ज डब्लु बुसले डेमोक्रेटिक उम्मेदवार अल गोरको भन्दा पाँच लाख कम मत पाएका थिए ।
राष्ट्रपतिमा निर्वाचित हुन कुल ५३८ इलेक्टोरल मतमध्ये कम्तीमा २७० ल्याउनुपर्नेछ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ५३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ । दलहरूले आफ्ना समर्थक वा पार्टी अधिकारीलाई चुनाव हुनुअघि नै इलेक्टोरलका रूपमा चयन गर्छन् । इलेक्टरले सिद्धान्ततः आफूलाई मन परेको उम्मेदवारलाई मत दिन पाउने भए पनि आफ्नो राज्यमा लोकप्रिय मत बढी पाउने उम्मेदवारलाई नै समर्थन गर्छन् ।
दुई उम्मेदवारले पाएको इलेक्टोरल मत बराबर भयो भने अमेरिकी संसद्को तल्लो सदनले मतदानमार्फत सबैभन्दा बढी इलेक्टोरल मत पाउने तीन उम्मेदवारबीचबाट राष्ट्रपति छान्छ । यस्तो प्रक्रियाबाट अमेरिकामा सन् १८२४ मा मात्र राष्ट्रपति निर्वाचित गरिएको छ । राष्ट्रपतिमा विजयी भएका उम्मेदवारले चयन गरेका उपराष्ट्रपतिका उम्मेदवार पनि स्वतः निर्वाचित हुन्छन् । ट्रम्पले जेडी भेन्सलाई उपराष्ट्रपतिको उम्मेदारमा अघि सारेका छन् भने ह्यारिसले मिनिसोटाका गभर्नर टिम वाल्ट्जलाई उपराष्ट्रपति बनाउने निर्णय लिएकी छन् ।