मोटरसाइईकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
, भदौ २८ — बाराको कलैया उपमहानगरपालिका–४ स्थित अदालत रोडमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
गएराती करिब १० बजे कलैयाबाट गञ्जभवानीपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०४४ प ०१२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको BR05AV 6136 नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए।
दुर्घटनामा BR05AV 6136 नम्बरको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका–४ अदालत रोड निवासी ३५ वर्षीय साहेब देवान घाइते भएका थिए।
उनलाई उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल लगिएकोमा चिकित्सकले राति १०ः४० बजे मृत घोषणा गरेका थिए।
दुर्घटनामा मधेश प्रदेश ०३–०४४ प ०१२३ नम्बरको मोटरसाइकल चालक करैयामाई गाउँपालिका–७ निवासी ३५ वर्षीय डिके चौधरी गम्भीर घाइते भएका छन्। उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।
सोही मोटरसाइकलमा पछाडि सवार करैयामाई–७ का १६ वर्षीय अन्जित चौधरी पनि घाइते भएका छन्। उनको शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। दुवै घाइतेको उपचार भइरहेको छ।
दुर्घटनापछि अस्थायी प्रहरी पोस्ट बसपार्कबाट प्रहरी नायब निरीक्षक विमलेश कुमार यादवको कमान्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनामा संलग्न दुवै मोटरसाइकल नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।
घटनाको थप अनुसन्धान तथा घटनास्थल मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक बिमल खतिवडाको कमान्डमा SOCO सहितको टोली खटिएको थियो।
आज बिहान १०ः४० बजे मृतक देवानको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैया पठाइएको थियो। पोस्टमार्टमपछि दिउँसो १ः०५ बजे शव उनका मामा नुरूल होदा देवानले बुझेर लगेका छन्।
दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0