बालबालिकाको क्षेत्रमा संरक्षण नेपालको योगदान उदाहरणीय : नरेन्द्र प्रसाद साह
कलैया, भदौ २६ — जिल्ला समन्वय समिति बारा प्रमुख नरेन्द्र प्रसाद साहले संरक्षण नेपालले बालअधिकार संरक्षण तथा उद्धारका क्षेत्रमा पुर्याएको योगदान उदाहरणीय रहेको बताएका छन्। बाल क्लबका रूपमा सुरु भएको अभियान विभिन्न अवरोध पार गर्दै २५ वर्ष पूरा गर्नु आफैंमा ठूलो उपलब्धि भएको उल्लेख गर्दै उनले समाज परिवर्तनमा संस्थाले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। संरक्षण नेपाल (प्रोटेक्सन नेपाल) बाराको २५औँ वार्षिकोत्सव (रजत जयन्ती), २५औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण कार्यक्रमलाई शुक्रबार कलैयामा सम्बोधन गर्दै प्रमुख अतिथि साहले भारतलगायत विभिन्न स्थानमा अलपत्र परेका दर्जनौँ बालबालिकाको उद्धार गरी परिवारसँग पुनर्मिलन गराउने कार्य संस्थाको महत्वपूर्ण उपलब्धि भएको बताए। यस्ता सामाजिक अभियानलाई आफ्नो साथ र समर्थन निरन्तर रहने उनको भनाइ थियो। नेपाल पत्रकार महासङ्घ बारा शाखाका उपाध्यक्ष पन्नालाल दासले बाल संगठनका रूपमा सुरु भएको अभियान रजत जयन्तीसम्म आइपुग्नु सुखद पक्ष भएको बताए। समाजमा नागरिक चेतनाको स्तर वृद्धि गर्न गैरसरकारी संस्थाहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले संरक्षण नेपालले बालबालिकाको क्षेत्रदेखि जीविकोपार्जनसम्म सराहनीय काम गरेको बताए। “मिडियाले सधैं विकृति र समस्यामात्र उजागर गर्दैन, समाजमा भएका सकारात्मक कामको प्रचार–प्रसारमा पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्वाह गर्छ,” दासले भने। त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक राजाबाबु ठाकुर, सचेत नागरिक बारा अध्यक्ष जयमंगल ठाकुर, केयर नेपालका ईश्वर केसी, अर्चना रावत तथा आईडी नेपालका विनोद श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै संरक्षण नेपालको सामाजिक योगदानको प्रशंसा गरेका थिए। कार्यक्रमको समापन गर्दै संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुश्वाहाले बाल्यकालदेखि गठन गरिएको क्लब आज २५ वर्षको यात्रासम्म आइपुग्नु गर्वको विषय भएको बताए। संस्थाले हाल विभिन्न दातृ निकायको सहयोगमा बारा सहित चार जिल्लामा शिक्षा, स्वास्थ्य, बाल संरक्षण तथा जीविकोपार्जनका क्षेत्रमा काम गरिरहेको जानकारी दिँदै उनले हालसम्म ५१ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिएको तथा समूहमार्फत ५०० भन्दा बढी विपन्न, दलित र गरिब परिवार लाभान्वित भएको बताए। “बालबालिकाको उद्धार गरी परिवारसँग पुनःस्थापना गर्ने कार्यलाई निरन्तरता दिएका छौँ। पारदर्शिता र जवाफदेहिता नै संस्थाको मूल आधार हो,” कुशवाहाले भने। संस्थाकाा ईडि हिरालाल चौधरीले कार्यपत्र प्रस्तुत गर्दै सहजिकरण गरेका थिए । कार्यक्रमको सञ्चालन माधुरी महतोले गरेकी थिइन् भने संस्थाका महासचिव पारस जयसवालले संस्थाको २५ वर्षे यात्रा, उपलब्धि, वर्तमान कार्यक्रम तथा भावी योजनाबारे प्रकाश पारेका थिए। उद्योग वाणिज्य संघ बाराको सभाहलमा आयोजित कार्यक्रम संरक्षण नेपालका अध्यक्ष कुश्वाहाको अध्यक्षतामा सम्पन्न भएको थियो। सो अवसरमा संस्थाको सामाजिक तथा आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुका साथै कार्यक्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने उक्त कार्यक्रममा संस्थाको संस्थागत विकासमा सहयोग पुर्याउनु भएको प्लान नेपालको पूर्व विकास संयोजक जयमगल ठाकुर, पूर्व गाविस सचिव रामदेव राउत, नि. कार्यवाहक अध्यक्ष पन्नालाल दास तथा राम्रो काम गरेका संस्थाको कर्मचारी रञ्जिता लामिछाने , निरज कुशवाहा, धिरेन्द्र सिन्हा लगायत व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको आयोजकले जानकारी गाराएका छन्। कार्यक्रममा कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेका थिए।
What's Your Reaction?
Like
0
Dislike
0
Love
0
Funny
0
Angry
0
Sad
0
Wow
0