कलैया, भदौ ५ — बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर जारी आन्दोलन पाँच बुँदे सहमतिपछि स्थगित गरिएको छ।
बिहीबार राति पथलैयास्थित सशस्त्र प्रहरी बलको प्राविधिक तालिम शिक्षालयमा पीडित परिवार, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा जिल्ला सुरक्षा समितिबीच भएको वार्तामा पाँच बुँदे सहमति जुटेपछि आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरिएको हो।
सहमतिअनुसार पीडित परिवारलाई राहत, क्षतिपूर्ति तथा रोजगारको व्यवस्था मिलाउन स्थानीय तहको समन्वयमा गृह मन्त्रालयसमक्ष सिफारिस गरिनेछ। यस्तै, घटनामा पक्राउ परेका संदिग्धमाथिको अनुसन्धानलाई निष्कर्षमा पुर्याउने र अनुसन्धानका क्रममा अन्य व्यक्तिको संलग्नता देखिए कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरिएको छ।
जिल्लाको शान्ति–सुरक्षा थप प्रभावकारी बनाउन सुरक्षा चुनौतीको समीक्षा गरी भरपर्दो सुरक्षा वातावरण कायम गर्ने जिम्मेवारी जिल्ला सुरक्षा समितिले लिएको छ। साथै घटनाको अनुसन्धान र खोजीका क्रममा लापरबाही गरेको पुष्टि भए सम्बन्धित सुरक्षाकर्मीमाथि आवश्यक कारबाही गरिने सहमति पनि भएको छ।
सहमतिपछि पीडित पक्षले आन्दोलनका कार्यक्रम स्थगित गर्दै घटनाको निष्पक्ष अनुसन्धान र दोषीलाई कडा सजाय दिलाउन सरकारसमक्ष आग्रह गरेको छ।
गत भदौ २ गते जीतपुरसिमरा–१ स्थित एक खाली घरमा गरिमाको शव फेला परेको थियो। घटनापछि स्थानीयवासी र पीडित परिवारले दोषीलाई तत्काल सार्वजनिक गरी कडा कारबाही गर्न माग गर्दै सडक अवरोध, प्रदर्शन तथा विरोधका कार्यक्रम सञ्चालन गर्दै आएका थिए।

Leave a Reply