नागरिकको हकहितमा खेलबाड गर्नेलाई कारबाही हुन्छ : मन्त्री महतो

जनकपुरधाम, २९ साउन — गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोले नागरिकको स्वास्थ्य, सुरक्षा, अधिकार र सार्वजनिक हितमाथि खेलबाड गर्ने कुनै पनि व्यक्ति वा संस्थालाई कानुनभन्दा माथि नराखिने स्पष्ट पार्दै मधेश प्रदेशभर सरकारी सेवा प्रवाह तथा बजार अनुगमनलाई थप कडाइका साथ अघि बढाइएको बताउनुभएको छ।
बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत मन्त्री महतोले प्रदेश सरकार सुशासन, पारदर्शिता, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै सरकारी कार्यालय, स्वास्थ्य संस्था, होटल–रेस्टुरेन्ट, औषधि पसल, विद्यालय तथा खाद्य वस्तुको उत्पादन र बिक्री–वितरण क्षेत्रमा नियमित अनुगमन भइरहेको जानकारी दिनुभएको हो।

विज्ञप्तिअनुसार सरकारी सेवामा अनावश्यक ढिलाइ गर्ने, सेवाग्राहीलाई दुःख दिने, जिम्मेवारीप्रति लापरवाही गर्ने तथा कानुन र निर्धारित प्रक्रियाको उल्लङ्घन गर्ने प्रवृत्तिमाथि प्रदेश सरकारले कडा निगरानी गरिरहेको छ।

त्यसैगरी होटल तथा रेस्टुरेन्ट, पसल, फार्मेसी, अस्पताल, विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम तथा खाद्य एवं पेय पदार्थको उत्पादन र बिक्री–वितरण क्षेत्रमा समेत नियमित निरीक्षण भइरहेको मन्त्रालयले जनाएको छ।

कानुनविपरीत सञ्चालनमा रहेका संस्था वा व्यवसाय, गुणस्तरहीन तथा म्याद नाघेका खाद्य सामग्री बिक्री गर्ने, कृत्रिम मूल्यवृद्धि गर्ने, तोकिएकोभन्दा बढी रकम असुल्ने तथा उपभोक्तालाई ठगी गर्ने गतिविधि कुनै पनि हालतमा स्वीकार्य नहुने मन्त्रालयको भनाइ छ।

अनुगमनका क्रममा कानुनविपरीत गतिविधि फेला परेमा सम्बन्धित व्यक्ति, संस्था वा पदाधिकारीमाथि प्रचलित कानुनअनुसार तत्काल कारबाही प्रक्रिया अघि बढाइने विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले उद्योगी, व्यवसायी, सेवा प्रदायक संस्था, अस्पताल, फार्मेसी, विद्यालय तथा अन्य सरोकारवालालाई कानुन, मापदण्ड, मूल्य र गुणस्तरको पूर्ण पालना गर्न आग्रह गरेको छ।

“कानुनको पालना गर्नु सबैको दायित्व हो। नागरिकको हकहितविपरीत काम गर्ने जोसुकैलाई पनि कानुनी दायरामा ल्याइनेछ,” मन्त्री महतोले विज्ञप्तिमार्फत बताउनुभएको छ।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *