५ वैशाख, बारा। राष्ट्रिय आर्थिक गणना २०८२ अन्तर्गत बारा जिल्लामा स्थलगत तथ्याङ्क संकलन कार्य वैशाख २ गतेदेखि सुरु भएको छ। जिल्ला आर्थिक गणना कार्यालय, बाराका आर्थिक गणना अधिकारी राजेश दासले यो गणना देशको वास्तविक आर्थिक अवस्था पहिचान गर्ने महत्वपूर्ण आधार भएको बताएका छन्।
उनका अनुसार “अर्थतन्त्र मापनका लागि आर्थिक गणना” भन्ने मूल नारासहित सञ्चालन गरिएको यस कार्यक्रमले उद्योग, व्यापार, सेवा क्षेत्र, रोजगारी अवस्था र उत्पादनसम्बन्धी यथार्थ तथ्याङ्क संकलन गर्नेछ। “सही तथ्याङ्ककै आधारमा देशको आर्थिक नीति र योजना निर्माण हुने भएकाले यो गणना अत्यन्त महत्वपूर्ण छ,” दासले भने।
दासका अनुसार बारा जिल्लामा गणना कार्यलाई प्रभावकारी बनाउन तालिमप्राप्त जनशक्ति परिचालन गरिएको छ, जसले व्यवसाय तथा प्रतिष्ठानमै पुगेर तथ्याङ्क संकलन गरिरहेको छ। साथै, गणनालाई सहज बनाउन स्थानीय तह र सरोकारवालासँग समन्वय गर्दै अघि बढिएको उनले जानकारी दिए।

उनले संकलित विवरणको गोपनीयताबारे पनि स्पष्ट पारे। “गणनामा संकलन गरिने व्यक्तिगत वा व्यावसायिक विवरणहरू तथ्याङ्क ऐन, २०७९ अनुसार पूर्ण रूपमा गोप्य रहनेछन्। ती विवरणहरू केवल सांख्यिकीय प्रयोजन र योजना निर्माणका लागि मात्र प्रयोग हुन्छन्,” उनले भने।
यसपटक अनलाइन प्रणालीमार्फत पनि विवरण भर्न सकिने व्यवस्था गरिएको उल्लेख गर्दै दासले व्यवसायी तथा उद्यमीलाई सक्रिय सहभागिताका लागि आग्रह गरे। “ई-सेन्सस प्लेटफर्ममार्फत स्वयं विवरण भर्न सकिने सुविधा छ, जसले गणनालाई अझ प्रभावकारी बनाउँछ,” उनले बताए।
उनका अनुसार आर्थिक गणनाबाट प्राप्त तथ्याङ्कले देशको कुल गार्हस्थ उत्पादन (जीडीपी) अनुमानलाई मजबुत बनाउने, नीति निर्माणमा सहयोग गर्ने र लगानी तथा रोजगारी सिर्जनामा मार्गनिर्देशन गर्नेछ।
दासले सबै उद्योगी, व्यवसायी तथा सरोकारवालालाई सही र पूर्ण विवरण उपलब्ध गराई आर्थिक गणनामा सहयोग गर्न आग्रह गर्दै भने, “यो केवल सरकारी कार्यक्रम मात्र होइन, देशको आर्थिक भविष्यसँग जोडिएको साझा जिम्मेवारी हो।”