जुवा र सट्टेबाजीका विज्ञापनमा प्रतिबन्ध, उल्लंघन गरे कारबाही हुने

दाश पन्न्नालाल दाश पन्न्नालाल 165 Views

काठमाडौं, चैत १६ — नेपालमा जुवा तथा सट्टेबाजीसम्बन्धी विज्ञापन र प्रचारप्रसार पूर्ण रूपमा निषेध गरिएको छ। विज्ञापन बोर्ड ले एक विज्ञप्ति जारी गर्दै यस्ता सामग्री प्रकाशन, प्रसारण वा प्रदर्शन नगर्न सबै सञ्चारमाध्यम, सामाजिक सञ्जाल तथा सम्बन्धित निकायलाई निर्देशन दिएको हो।
बोर्डका अनुसार अनलाइन जुवा, बेटिङ तथा यस्ता गतिविधिसँग सम्बन्धित कुनै पनि प्रकारका विज्ञापन अब कानुनविपरीत मानिनेछ। यदि कसैले यस्तो सामग्री प्रचार गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।
सरकारले यसअघि नै शासकीय सुधारका कार्यक्रमअन्तर्गत सट्टेबाजीसम्बन्धी एप र वेबसाइटहरू बन्द गर्ने नीति अघि बढाएको थियो। सोही नीतिअनुसार बोर्डले थप कडाइ गर्दै सार्वजनिक रूपमा प्रचार–प्रसारमै रोक लगाएको हो।
अपराध संहिता, २०७४ को दफा १२५ अनुसार नेपालमा जुवा खेल्न वा खेलाउन मात्र होइन, त्यससम्बन्धी विज्ञापन प्रकाशन, प्रसारण वा प्रदर्शन गर्नसमेत निषेध गरिएको छ। बोर्डले यही कानुनी व्यवस्थालाई आधार मानेर यस्तो निर्देशन जारी गरेको जनाएको छ।
बोर्डले सबै सरोकारवालालाई कानुनी प्रावधानको पालना गर्न आग्रह गर्दै अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत हुने अवैध प्रचारप्रसार नियन्त्रणमा कडाइ गरिने स्पष्ट पारेको छ।

प्रतिक्रिया
Share This Article