धादिङ बस दुर्घटनामा ६ महिला र ११ पुरुषको मृत्यु, विदेशी नागरिक घाइते

दाश पन्न्नालाल दाश पन्न्नालाल 131 Views

भुुषण कुमार

११ फागुन, धाादिङ।

धादिङको त्रिशूली नदी किनारमा सोमबार मध्यराति भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ। मृत्यु हुनेमध्ये ६ महिला र ११ पुरुष रहेको पुष्टि भएको छ भने दुर्घटनामा विदेशी नागरिक समेत घाइते भएका छन्।
पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख १४२१ नम्बरको यात्रुबाहक बस पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडास्थित सडकबाट करिब ३ सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा दुर्घटना भएको हो। दुर्घटना राति करिब १ बजेतिर भएको जनाइएको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार दुर्घटनामा घाइते भएका २७ जनालाई उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको छ। घाइतेमध्ये एक जना न्यूजील्याण्डका नागरिक पनि रहेका छन्। मृतक र घाइतेहरूको पहिचान प्रक्रिया भने अझै जारी रहेको छ।
अप्ठेरो भौगोलिक अवस्थाका कारण उद्धार कार्य निकै चुनौतीपूर्ण बनेको थियो। घटनास्थलबाट घाइतेहरूलाई डुंगाको सहायताले करिब एक किलोमिटर तलसम्म सारेर त्यसपछि सडकसम्म उकालो लगाई एम्बुलेन्समार्फत अस्पताल पठाइएको थियो।
रातिको समय, प्रकाशको अभाव तथा आवश्यक उद्धार सामग्री पर्याप्त नहुँदा उद्धार कार्यमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताएका छन्। सुरक्षाकर्मीहरूले टर्चको सहायताले घाइतेहरूको खोज तथा उद्धार गरेका थिए।
दुर्घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली उद्धारमा खटिएको थियो। सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस आदमघाट तथा कुरिनटारस्थित तालिम शिक्षालयबाट गोताखोरसहितको टोली घटनास्थलमा परिचालन गरिएको थियो।
दुर्घटनाको कारणबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
Share This Article