दास पन्नालाल
कलैया, २५ भदौ—– जिल्ला प्रशासन कार्यालय प्रशासन कार्यालय वारा, कलैयाले जिल्लाभरिका लागि आज विहानै देखि वेलुका सम्म कर्फ्यू लगाएको छ। प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले सुचना मार्फत कर्फ्यू आदेश जारी गरिएको जानकारी गराएका छन्।
जिल्लाका चार किल्ला पूर्वः- रौतहट जिल्ला पश्चिमः- पर्सा उत्तरः- मकवानपुर जिल्ला दक्षिणः- भारत सम्मलाई तोकिएको छ।
बारा जिल्ला लगायत मुलुकका विभिन्न भागमा हालै भएको प्रदर्शनका क्रममा ठूलो जनधनको क्षति भएको छ । यस विषम् परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन आग्रह गरिएको छ।
प्रदर्शन तथा अन्दोलनका क्रममा सरकारी तथा निजी सम्पत्ति माथि आक्रमण भई जनजीवन अस्तव्यस्त भएकोले यस परिस्थितिलाई सहज बनाउन नेपाली सेनासमेत सबै सुरक्षा निकाय परिचालन भएको अवस्था छ । सबैजना शान्त रही आ-आफ्नो घर/स्थानमा रहनुहुन हार्दिक अपिल गर्दछु, उनले भने।
आज २०८२/०५/२५ गते विहान ठीक ६:०० बजे देखि दिउँसो ३:०० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम बारा जिल्लाको देहायका चार किल्ला तोकी सो सीमाना भित्र कसैले आवत-जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ।
साथै, कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुने जनाएको छ।