पाकिस्तानमा झडप हूदा १६ जनाको मृत्यु

दाश पन्न्नालाल दाश पन्न्नालाल 224 Views

 २७ असोज,काठमाडौं  । पाकिस्तानको उत्तरपश्चिममा भएको साम्प्रदायिक झडपमा तीन महिला र दुई बालबालिकासहित कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा सुन्नी र शिया मुस्लिम समुदायबीच लामो समयदेखि लडाइँमा संलग्न छन्। कुर्रममा दुई सम्प्रदायका बीचको रक्तपातपूर्ण भिडन्तले वर्षौंदेखि सयौंको ज्यान लिएको छ।

सुन्नीहरूको एउटा समूह शनिबार अर्धसैनिकहरूको सुरक्षामा यात्रा गरिरहेको अवस्थामा आक्रमणमा परेको कुर्रम प्रशासनका एक वरिष्ठ अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन्। अधिकारीका अनुसार उक्त आक्रमणमा १४ जनाको मृत्यु भएको थियो भने प्रहरीको जवाफी कारबाहीमा  दुई जना आक्रमणकारीको मृत्यु भएको थियो।

जुलाईदेखि सेप्टेम्बरसम्ममा भएका झडपहरूमा दर्जनौं मानिसहरूको मृत्यु भएको छ भने आदिवासी परिषद्ले युद्धविराम बोलाएपछि मात्र अवस्था केहि शान्त भएको जनाइएको छ।

अधिकारीहरूले नयाँ युद्धविरामको मध्यस्थता गर्ने प्रयास गरिरहेका छन्। उक्त समुदायहरूले परम्परागत आदिवासी नियमहरू अवलम्वन गर्ने भएकाले दुर्गम क्षेत्रहरूमा पुनः  हिंसात्मक घटनाहरु हुनसक्ने जनाइएको छ।

सुन्नी मुस्लिम समुदायको बाहुल्यता भएको पाकिस्तानमा सिया समुदायले लामो समयदेखि भेदभाव र हिंसाको सामना गर्दै आएको छ। रासस

प्रतिक्रिया
Share This Article