३ असोज, जनकपुर। जनमत पार्टीका मुख्यमन्त्रि रहेका सत्ता साझेदार मधेश सरकारले पहिलो पटक औपचारिक रूपमा संविधान दिवस मनाएको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयको आयोजनामा बिहीबार बिहान जनकपुरधामको रामानन्द चोकबाट सुरुभएको प्रभातफेरि नगर परिक्रमा गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ब्याण्डबाजासहित प्रभातफेरिमा मुख्यमन्त्री सतिशकुमार सिंह, प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सांसद, सुरक्षा निकायका प्रमुख, कर्मचारी, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
प्रभातफेरि पश्चात कोणसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले वर्तमान संविधानबाट प्राप्त उपलब्धिको रक्षा गर्दै थप सुधारको आवश्यकता रहेको बताए । संविधानले संघीयता, लोकतन्त्र र गणतन्त्रलाई ठूला उपलब्धिको रूपमा स्थापित गरेको उनको भनाइ छ ।
संघीयता आइसकेपछि गाउँगाउँमा विकासका कामहरू अघि बढेको उनले तर्क गरे । मुख्यमन्त्री सिंहले प्रदेश सरकारलाई बलियो बनाए मात्र लोकतन्त्र र गणतन्त्रलाई मजबुत बनाउन सकिने भन्दै, संविधानमा रहेका असहमतिहरूको सार्थक सम्बोधन गर्दै अघि बढ्नुपर्ने धारणा राखे ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले वर्तमान संविधानले दिएको उपलब्धिहरूलाई संस्थागत गर्दै परिमार्जन गरी जनताको चाहनालाई सम्बोधन गर्नुपर्ने बताए । कार्यक्रममा सभामुख रामचन्द्र मण्डललगायत केही मन्त्रीहरु सहभागी थिए ।
मधेश सरकारले यसअघि संविधान दिवस मनाएको थिएन । साढे ६ वर्षसम्म जनता समाजवादी पार्टी नेपाल नेतृत्वको सरकार रहँदा नमनाइएको संविधान दिवस जसपा नेपाल सरकारबाट बाहिरिएपछि मनाइएको हो । संविधान दिवसको अर्थ सत्तासँगै व्याख्या हुदै आएको छ।