मधेशमा शिक्षक अभाव गम्भीर, शिक्षा सुधारका लागि दरबन्दी थप गर्न मन्त्री तिवारीको माग

मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले प्रदेशमा शिक्षक अभाव गम्भीर समस्या बनेको भन्दै संघ सरकारसँग नयाँ शिक्षक दरबन्दी सिर्जना गर्न माग गरेकी छन्।

जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालयको ११७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विद्यार्थीको तुलनामा शिक्षक संख्या अत्यन्तै न्यून रहेको बताइन्। उनका अनुसार मधेशमा औसत ११७ विद्यार्थी बराबर १ शिक्षक मात्र उपलब्ध छन्, जुन गुणस्तरीय शिक्षाका लागि अव्यवहारिक अवस्था हो।

मन्त्री तिवारीले शिक्षक अभाव समाधानका लागि संघ सरकारले दरबन्दी बढाउनुपर्ने वा प्रदेश सरकारलाई दरबन्दी सिर्जनाको अधिकार दिनुपर्ने आवश्यकता औंल्याइन्। उनले शिक्षा सुधारलाई संघ सरकारको १०० बुँदे कार्यक्रमको प्राथमिकतामा राख्न पनि आग्रह गरिन्।
विद्यालय प्रशासनले ११७ वर्ष पुरानो उक्त विद्यालय अहिले पुनः शैक्षिक केन्द्रका रूपमा स्थापित हुँदै गएको जनाएको छ।

वार्षिकोत्सवको अवसरमा ११ जना छात्रालाई साइकल र कक्षा १२ विज्ञानका ९ जना छात्रालाई जनही १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको थियो। साथै उत्कृष्ट विद्यार्थीहरूलाई समेत पुरस्कृत गरिएको छ।

प्रतिक्रिया

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *